
धादिङ । धादिङको गजुरी गाउँपालिकाले आज शुक्रबार पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थामा शोक बिदा दिएको छ ।
गजुरी गाउँपालिका–७, पेटारेस्थित श्री वागेश्वरी आधारभूत विद्यालयमा कार्यरत शिक्षक खड्कराज धामीको असामयिक निधन भएपछि गाउँपालिकाले शोक बिदा घोषणा गरेको हो ।
मुगु जिल्लाको सोरु गाउँपालिका स्थायी ठेगाना भएका शिक्षक धामी लामो समयदेखि शिक्षण पेसामा आबद्ध थिए । उनको भदौ ४ गते निधन भएको थियो ।
शिक्षक धामीको निधनले सिङ्गो गजुरी गाउँपालिका परिवार स्तब्ध र मर्माहत भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा दिवंगत शिक्षक धामीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
शिक्षा क्षेत्रमा शिक्षक धामीले पुर्याएको योगदानको उच्च सम्मान गर्दै भदौ ५ गते शुक्रबार गजुरी गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालय एवं शैक्षिक संस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।
