
काठमाडौं चैत्र २५ । नेपालमा कोभिड१९ महामारी समुदायमा फैलिन सक्ने चिन्ताबीच नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको परीक्षण किट प्रयोगगरि जाँच्ने निर्णय गरेको छ ।
द्रुत परीक्षण गर्न मिल्ने किटसहित तीनवटा जिल्लामा खटाउन लागिएको टोलीले चीनबाट किनेर ल्याइएको तर डब्ल्यूएचओले हालसम्म मान्यता दिइनसकेको भनिएको किट नै लिएर जाने बीबीसीले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बीबीसीलाई भनेका छन्, “यसको क्षमता पुष्टि गर्नका निम्ति पनि पठाइएको हो।”
“यो किटले गर्ने परीक्षण र पीसीआर प्रविधिबाट गरिँदै आएको परीक्षणका नतिजा मिल्यो भने यसले नेपाललाई मात्रै नभएर अरू देशलाई पनि द्रुत परीक्षण उपयोगी हुँदो रहेछ भन्ने कुराको सन्देश जान्छ।”

