बागमती प्रदेश सरकारले छुट्यायो पाँच करोड

Avatar photo
Dhadingpost
चैत्र १०, २०७६

धादिङ चैत्र १० । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथामका लागि बागमती प्रदेश सरकारले ५ करोड छुट्याएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणको व्यवस्थापन गर्न खर्च गर्ने गरि सामाजिक विकास मन्त्रालयमार्फत ५ करोड छुट्याएको हो ।

कोरोना संक्रमण रोक्न युद्ध स्तरमा जुटेको बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण समिति, स्वास्थ्य व्यवस्थापन समिति र बजार अनुगमन उच्च स्तरीय समिति समे गठन गरि सकेको छ ।

प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडामा ५०० शय्याको क्वारेन्टाइन र प्रदेशका विभिन्न स्थानमा २०० शय्याको आइसोलेसन वार्ड निर्माण गर्ने तयारी गरेको छ । हेटौंडाको हेटौंडा एकेडेमीमा २००, वन विज्ञान अध्ययन संस्थानमा १००, गौरीटार खेलकुद एकेडेमीमा १०० र सशस्त्र प्रहरी क्याम्प कर्रामा १०० शय्याको क्वारेन्टाइन निर्माण गर्ने सरकारले जनाएको छ ।

यस्तै, हेटौंडा अस्पतालमा १००, भक्तपुर अस्पतालमा पाँच, सिन्धुपाल्चोक अस्पतालमा पाँच, रसुवा अस्पतालमा चार, नुवाकोट अस्पतालमा पाँच, धादिङ अस्पतालमा पाँच, रामेछाप अस्पतालमा दुई, सिन्धुली अस्पतालमा तीन, चितवन अस्पतालमा ५०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा ५० शय्याको आईसोलेसन वार्डको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

हेटौंडा एकेडेमीमा क्वारेन्टाइनको निर्माण तयारी भइरहेको छ भने नेपाली सेनाले सामरी पुलपारी पनि ३० वटा क्वारेन्टाइन शिविर खडा गरिएको छ । यस्तै, हेटौंडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा पाँच, सिन्धुली अस्पतालमा पाँच, चितवन ९भरतपुर० अस्पतालमा २०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १० र निजी मेडिकल कलेजहरूमा १०० शय्याको भेन्टिलेटरसहितको आइसियु स्थापना गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।

x