
धादिङ फागुन ११ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित निर्माणधिन सहिद स्मृति पार्कमा एकै दिन सहिद भएका जोगिमाराका १७ जनाको परिवारलाई सम्मान गर्दै १९ औं बलिदानी दिवस मनाईएको छ ।
तात्कालिन शाही सेनाले आजैका दिन (०५८ फागुन ११ गते) जोगिमाराका १७ जना चेपाङहरुलाई कालिकोटको कोटबाडामा मजदुरी गरि रहेको अवस्थामा हेलिकप्टरबाट आक्रमण गरि हत्या गरेको थियो ।
त्यसयता हरेका वर्ष जोगिमाराका १७ जना सहिदको सम्झनामा अखिल नेपाल ट्रेड युनियन महासंघले बलिदानी दिवस मनाउँदै आए अनुरुपम आईतबार १९ औं बलिदानी दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष सोम बहादुर थापाले सहिदहरुको बलिदानीले सम्मान गर्दै सरकारले जनयुद्धमा सहादत सबैलाई सहिद घोषणा गरिनु पर्ने माग गरेका थिए ।
मजदुरीका लागि कालिकोट जिल्लाको साविकको कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सुरक्षाफौजवाट १७ जना र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी भन्दै २०५८ फागुन ११ गते गोली हानी हत्या गरेको थियो । हत्या भएका धादिङका १७ जना चेपाङ सबै अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य रहेका थिए ।
को को मारिएका थिए एकै ठाउँमा
०५८ फागुन ११ गते कालिकोटको कोटबाडामा माओवादीको आशंकामा सेनाले माओवादी सेना भएको आशंकामा जोगिमाराका सानुकान्छा चेपाङ, रामबहादुर चेपाङ, विकास चेपाङ, शेरबहादुर चेपाङ, कुम्ले चेपाङ, चित्रबहादुर (तिलु) चेपाङ, दिलबहादुर चेपाङ, बुद्धराज चेपाङ, टंकबहादुर गुरुङ, गोकण गुरुङ, ज्ञानबहादुर थापा, मञ्जु थापा, टेकबहादुर विक, सानुकान्छा (सूर्य) विक, राजकुमार विक, राजकुमार श्रेष्ठ, काभ्रे दोलालघाटका प्रेम (माइला) तामाङ, काभ्रे सानोबाङथलीका पासाङ तामाङ, रामेछाप नागदहका हर्कबहादुर तामाङ र ताकुकोट गोरखाका कुमार बरामको हत्या गरिएको थियो ।
अखिल नेपाल टे«ड युनियन महासंघ धादिङका अध्यक्ष वद्रि प्रसाद सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष सोम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै नेपाल कम्युनिष्ट पाटी (नेकपा) धादिङका सचिव विजय बुर्लाकोटी, बेनिघाट रोराङ गाउँपालिका कमिटीका अध्यक्ष कृष्ण बहादुर थपलिया, गाउँपालिका कमिटीका सचिव रमेश भट्टराई, बेनिघाट रोराङ गाउँ पालिकाका अध्यक्ष हरि डल्लाकोटी लगायतको आतिथ्यता रहेको थियो ।

