
धादिङ । शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले २०८३ साउन महिनामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ । एकाइले शिक्षकको कार्यसम्पादन मूल्यांकन, विद्यालय अनुगमन तथा निरीक्षण, परीक्षा अनुगमन, शैक्षिक तथ्यांक सत्यापन, शिक्षक सरुवा तथा अवकाशलगायतका १८ वटा प्रमुख कार्य सम्पन्न गरेको जनाएको छ ।
एकाइका अनुसार साउन महिनामा जिल्लाका १ हजार ३५६ जना स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन गरिएको छ । त्यस्तै, कक्षा १२ को पूरक परीक्षा अनुगमन तथा माध्यमिक शिक्षा पूरक परीक्षा २०८२ अन्तर्गत ७७ विद्यालयका ग्रेडसिट तथा प्रमाणपत्र वितरण गरिएको छ ।
यस अवधिमा आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम दोस्रो चरणअन्तर्गत जिल्ला स्तरीय स्रोत शिक्षक प्रशिक्षण सञ्चालन गरिएको छ। सिद्धलेक र गल्छीका ७ वटा क्लस्टरमा कार्यशाला समेत सञ्चालन गरिएको एकाइले जनाएको छ ।
शैक्षिक संस्थाको अनुगमन तथा निरीक्षणअन्तर्गत १० विद्यालयको अनुगमन तथा निरीक्षण गरिएको छ । दुई विद्यालयमा विषय विज्ञसहितको समूह बनाएर अनुगमन, कक्षा अवलोकन तथा समीक्षा गरी आवश्यक पृष्ठपोषणसमेत प्रदान गरिएको छ ।
एकाइले जिल्ला तथा स्थानीय तहको आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।
शिक्षक तथा कर्मचारी व्यवस्थापनतर्फ एक जना शिक्षकलाई जिल्लान्तर र तीन जना शिक्षकलाई जिल्लाभित्र शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार सरुवा गरिएको छ । चार जना करार कर्मचारीसँग सेवा करार गरिएको तथा ११ जना करार/राहत शिक्षकको अभिलेखीकरण गरिएको एकाइले जनाएको छ । त्यस्तै, चार जना शिक्षकलाई अनिवार्य अवकाश दिइएको छ ।
विद्यार्थीसम्बन्धी सेवातर्फ ६ जना छात्रछात्राको नाम, थर तथा जन्ममिति सच्याउन सिफारिस गरिएको छ भने दुई जना छात्रछात्रालाई उच्च शिक्षा अध्ययनका लागि सिफारिस गरिएको छ । शैक्षिक तथ्यांक सत्यापनका लागि स्थानीय तहलाई अनुरोधसमेत गरिएको छ ।
कार्यालयले साउन महिनामा रु. १ लाख ७० हजार २५० राजस्व संकलन गरेको छ । विभिन्न निकायबाट १४१ वटा पत्र कार्यालयमा दर्ता भएका छन् भने विभिन्न निकायका लागि कार्यालयबाट ११७ वटा पत्र चलानी गरिएको छ ।
यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले आर्थिक वर्ष २०८२/०८३ को स्थिति प्रतिवेदन प्रकाशन गरेको जनाएको छ ।
एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठले साउन महिनामा सम्पन्न कार्यहरूमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यालयले हरेक महिनामा आफूले सम्पादन गरेका कार्यहरू सार्वजनिक गर्दै जाने बताएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ धादिङका साउन महिनाका प्रमुख उपलब्धि :
- १,३५६ जना स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन ।
- कक्षा १२ को पूरक परीक्षा अनुगमन ।
- आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम दोस्रो चरणको स्रोत शिक्षक प्रशिक्षण ।
- सिद्धलेक र गल्छीका ७ क्लस्टरमा कार्यशाला सञ्चालन ।
- १० विद्यालयको अनुगमन तथा निरीक्षण ।
- दुई विद्यालयमा विषय विज्ञसहित कक्षा अवलोकन, समीक्षा र पृष्ठपोषण ।
- ७७ विद्यालयका ग्रेडसिट तथा प्रमाणपत्र वितरण ।
- शिक्षक सरुवा, करार कर्मचारीको सेवा करार र शिक्षक अभिलेखीकरण ।
- चार जना शिक्षकलाई अनिवार्य अवकाश ।
- रु. १ लाख ७० हजार २५० राजस्व संकलन ।
- आर्थिक वर्ष २०८२/०८३ को स्थिति प्रतिवेदन प्रकाशन ।
