
काठमाडौं फागुन ६ । वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भैरवनाथ गण, खारा घटना र चिसापानी ब्यारेकलाई छान बीन गर्ने भएको छ ।
आयोगका अध्यक्ष युवराज सुवेदीले काठमाडौं स्थित नेपाली सेनाको भैरवनाथ गण र बाँकेको चिसापानी ब्यारेक (तत्कालीन भीमकाली गुल्म) र खारा घटनामा मानवअधिकार उलंघनका घटनाको छानबिन गरिने बताएका हुन् ।
भैरवनाथ गणमा भन्दा धेरै संख्यामा बन्दीहरु बेपत्ता र हत्या गरेको आरोप बाँकेको चिसापानी ब्यारेकमाथि पनि लागेको छ । चिसापानी व्यारेकबाट आफ्ना आफन्त बेपत्ता र हत्या गरिएको भन्दै बर्दियासहितका २७५ जनाले उजुरी दिएका थिए ।
त्यसैगरी रुकुमको खारा घटनाको पनि छानबिन गरिने जानकारी सुवेदीले दिएका छन्। द्वन्द्वकालमा सबैभन्दा प्रभावित रुकुमको खारामा २०५६ साल फागुन १० गते तत्कालीन शाही नेपाली सेनाबाट १५ स्थानीयबासी मारिएका थिए ।
माओवादी समर्थित केही गाउँलेसहित १५ जना खाराबासीलाई तत्कालिन शाही नेपाली सेनाले माओवादीका लडाकु भन्दै हत्या गरेको आरोप छ । त्यसबेला सेनामाथि ८० भन्दा बढी घरहरुमा लागो लगाएर गाउँ नै सखाप पारेको अर्को आरोप पनि छ ।
