धादिङबेसी जुरेथुमको प्रसिद्ध कैलाश जात्रा आज

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७६

गंगालाल गुरुङ
धादिङ कार्तिक २५ ।
धादिङको सदरमुकाम नजिकै रहेको बागेश्वरी मन्दीरमा आज (सोमबार) बेलुका भव्य मेला लाग्ने भएको छ । प्रत्येक वर्षको कार्तिक पूर्णिमाको अघिल्लो रात हुने कैलाश जात्रा आज हुनलागेको हो ।

नीलकण्ठ नगरपालिकाको पर्यटकीय सम्पत्तीको रुपमा रहेको यो पहाडको टाकुरो धार्मिक दृष्टिकोणले महत्वपूर्ण मन्दीरको रुपमा रहेको बागेश्वरी मन्दीरमा पुजा आजा गरेमा आफ्नो मनोकांक्षा पुरा हुने जनविश्वास रहदै आएको छ ।

तस्बीरमा देखिएको डाडाभन्दा अलि पर जहाँ पुग्न करिब १० मिनेट हिडेसी जात्रास्थल पुग्न सकिनेछ । सदरमुकाम धादिङबेशीबाट करिब २ घण्टाको पैदल पछि पुग्न सकिने सो मन्दिरमा आज बेलुका जात्रा लाग्दै छ । जात्राको लागि आज बिहान देखि चहलपहल बढेको जुरेथुमका स्थानीय वासिन्दाले बताएका छन् ।

आज रातभरी जागाराम बसि बत्ति बाल्नाले आफूले सोचेको कुरा पुरा हने जनविश्वासको कारण आज वागेश्वरीमा बत्ति बाल्नेको भिड आज दिउसो देखि नै लागेको छ । बत्ति बाल्नको लागि जुरेथुम, केरावारी, पात्ले, हिले खर्क, सिउडीवार, चिसापानी, सिम्ले, तिनघरे, साङकोष, भुलभुले लगायत धादिङबेशीबाट समेत हजारौको संख्यामा महिलाहरु आज बागेश्वरी पुग्ने गर्दछन् ।

धादिङ सदरमुकाम आसपासको सबैभन्दा ठूलो जात्राको रुपमा कैलाश जात्रालाई लिने गरिन्छ । जात्रामा भाकल गरेकाहरुले आज रात्ति नै र भोली दिनभरी नै बोका, कुखुरा , हाँस लगायतको बलि दिने परमपरा रहेको छ । सो जात्रा हेर्नको लागि मानिसहरु दशै तिहारमा घर नआई जात्रामा आउने गर्दछ ।

जुरेथुमबाट नजिकै रहेको सो स्थानमा हजारौको संख्यामा जात्रा हेर्न भनि विभिन्न गाउबाट सानो नानीबाबु देखि बृद्धबृद्धाहरु समेत आउने गर्दछन । विशेष गरि सो जात्रा हेर्न युवायुवतीको संख्या उल्लेख्य मात्रामा आउने गर्दछ । बुढापाकाका अनुसार प्रत्येक वर्ष कैलाश जात्रामा ५ देखि १० जनाको भागेर विहे हुने गरेको बताईन्छ ।

बाजा गाजा सहित जुरेथुम, तीनघरे, सिउडीवार, पात्ले, केरावारी लगायतका गाउहरुबाट करिब सय भन्दा बढि डोली बागेश्वरी लाने गर्दछ । विभिन्न गाउ गाउँबाट ल्याइएका डोलीलाई वागेश्वरी मन्दीरमा फुल तार्ने काम गरिन्छ । आज रातभरी वागेश्वरी मन्दीर वरपर बत्ति बाल्ने र जात्रा हेर्न आउनेको भिडले सो वरपरको वातारण उल्लासमय बन्ने गर्दछ ।

रातभरी रमाईलो गरि भोली बिहान विभिन्न गाउबाट ल्याईका डोलीहरु फिर्ता आउने र घरमा आएर रमाईलो गर्ने परम्परा रहदै आएको छ ।
धादिङ सदरमुकामबाट सवारी साधनमा समेत जात्रा स्थल नजिकै पुग्न सक्ने भएपनि अधिकांश मानिस बेलुकाको जात्रा भएको कारण हिडेर नै पुग्ने गरिन्छ ।

धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्त सम्भावना बोकेको बागेश्वरी मन्दीरसम्म वाटो पु¥याउने हो भने त्यहाँको महत्व अझ बढने छ । कैलाश जात्रा लाग्ने ठाउबाट धादिङको अधिकांश ठाउहरु प्रष्ट रुपमा देखिने भएकोले पनि पर्यटकीय सम्भावना प्रवल रहेका छन । गणेश हिमाल, अन्नपूर्ण, सुनौलाबजारको भैरवी टावर, फूलखर्कको गंगाजमुना झरना, लापा झार्लाङ तिप्लीङ लगायतका ठाउहरु सो स्थानबाट देख्न सकिनेछ ।