
धादिङ कार्तिक २३ । धादिङको गङ्गा जमूना गाउँपालिका स्थित फुलखर्कमा तीन दिने निशुल्क आखाँ शिविर सुरु भएको छ ।
फुलखर्क स्वास्थ्य चौकीमा शुक्रबारदेखि सुरुभएको आँखा शिविरको पहिलो दिन शुक्रबार १ सय ४० जनाको आँखा जाँच गराएका छन् । १५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका डाक्टर कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर कमल बहादुर खड्काले चेक गर्ने उक्त शिविरमा अप्रेसन गरिने विरामीलाई कालो चस्मा र खानाको लागि जाउलो निःशुल्क वितरण गरिएको संयोजक नवराज अधिकारीले धादिङपोष्टलाई बताए ।
फुलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाईटी फुलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त शिविर आईतबार सम्म चल्ले संयोजक अधिकारीले जानकारी दिए । फोटोः दामोदर भट्ट

