धादिङमा भाईरल ज्वरो बढ्यो, सावधानी अपनाउन आग्रह

Avatar photo
Dhadingpost
अशोज २१, २०७६

धादिङ असोज २१ । धादिङबेसी स्थित जिल्ला असपतालमा दशैको अवधिमा समेत विरामीको चाप घटेन, हामी टिकाको दिन अस्पताल पुग्दा स्वास्थ्य कर्मीहरु चेकजाँचको लागि भ्याई नभ्याई थिए ।

९० प्रतिशत भन्दा बढी भाईरल ज्वरोको विरामी जिल्ला अस्पताल आउने गरेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले धादिङपोष्टलाई बताए । दशै अधि डेङ्गुको विरामी भेटिए पनि अहिले भाईरल ज्वरोका विरामीहरु धेरै भएको उनीहरु बताउँछन् ।

भाइरल ज्वरो वा भाइरल फ्लु

मुख्यगरी राइनो (२५–८० प्रतिशत) भाइरसले गराउँछ । कोरोना भइरस (१०–२० प्रतिशत), इन्फ्लेजा भाइरस (१०–१५ प्रतिशत) र एडिनो भाइरस (५ प्रतिशत) पनि भाइरल फ्लुको कारण हो । भाइरसले धेरैजसो माथिल्लो श्वासप्रश्वास नली (नाकदेखि घाँटीसम्म) संक्रमण गराउँछ । शरीरमा भाइरस छिरेको १–२ दिनमा लक्षण देखा पर्न थाल्छन् र २–४ दिनमा तिनले उग्र रूप लिन्छन् ।

लक्षण र घरेलु उपचार

सामान्य ज्वरो आउनु (१०१ डिग्रीभन्दा कम), पातलो सिँगान बग्नु, लगातार हाँछ्यु आउनु, नाक बन्द हुनु, खोकी लाग्नु, आवाज धोत्रो हुनु, टाउको दुख्नु, घाँटी दुख्नु, जिउ आलस्य हुनु यसका लक्षण हुन् ।

यी लक्षण देखा परेमा घरमै सामान्य उपचार गर्दा हुन्छ । जस्तैः तातोपानीमा मह, अदुवा, कागती या तुलसी पत्ता राखेर दिनमा ४–५ गिलास पिउने गर्दा यसमा राहत मिल्छ । यस्तो बेला प्रशस्त दाल, सुप र गेडागुडीको रस पिउनु लाभदायक हुन्छ । एक गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर दिनमा ३–४ पटक घाँटी कुल्ला गर्दा पनि त्यो लाभदायक हुन्छ ।

यसका साथै भाइरल ज्वरो आउँदा २–३ दिन घरमै आराम गर्ने, फ्रिजमा राखेको चिसो कुरा नखाने, सिटामोल (पारासिटामोल) दिनमा ३–४ पटक (६ घन्टाको फरकमा) खाने गर्दा ज्वरो कम हुन्छ र दुखाइ कम गर्छ । घरेलु उपचार गरेको ५–६ दिनसम्म पनि स्वास्थ्यमा सुधार नआउँदा स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

विशेषतः बच्चाको टाउको र हातखुट्टा न्यानो राख्ने, आमाको दूध पटक–पटक चुसाउने (२–३ घन्टाको फरकम) ६ महिनामाथिका बच्चालाई प्रशस्त तातो झोल कुरा खुवाउने गर्नुपर्छ । तर ०–५ वर्षसम्मका बच्चाले छिटो–छिटो सास फेरेमा, नाक फुलाएर सास फेरेमा, कोखा हानेमा, राम्ररी खान छोडेमा, बच्चा सुस्त हुँदै गएमा, झिँजिने, रुने र नखेल्ने गरेमा स्वास्थ्य संस्था वा चिकित्सककहाँ लगि हाल्नुपर्छ ।

भाइरल फ्लु सरुवा रोग हो । अरूबाट आफूलाई यो सर्न नदिन वा अरूलाई सर्न नदिन हात राम्रोसँग साबुन पानीले धुनुपर्छ । नाक र आँखा हातले चलाउनु हुन्न । सिंगान र खकार जथाभागी फाल्नु हुन्न । यस्तोमा सफा र रुमाल या पेपर प्रयोग गर्नुपर्छ । सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खानु हुन्न ।