
काठमाडौं असोज १७ । चिनिया राष्ट्रपति सि जिन पिंग २३ वर्ष पछि नेपाल आउन लागेका छन् ।
राष्ट्रपति सि भारतको चेन्नेई हुँदै असोज २५ र २६ गते (अक्टोबर १२ र १३) नेपाल भ्रमणमा आउन लागेका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ । सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ ।
स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणमा चीनबाटै चार वटा विशेष गाडी नेपाल ल्याउने तयारी चीनले गरेको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत चीनले लबिङ गरिसकेको छ।
चीनले पनि राष्ट्रपति सीको भ्रमणको अग्रपंक्तिको कारगेडमा आफ्ना सुरक्षाकर्मी ल्याउने तयारी गरेको उच्च स्रोतले बतायो ।
सरकारले भ्रमण अवधिभर हाइप्वाइन्ट ड्युटी, हवाई गस्ती र पेट्रोलिङ, नाकामा कडाईसँगै अन्य गस्ती र चेकप्वाइन्टलाई कडाई गर्ने तयारी गरेको छ। सी भ्रमणको दिन सरकारले शैक्षिक संघसंस्था विदा दिने तयारी गरेको छ ।
उदाउंदो विश्व शक्ति चीनबाट नेपालले कति लाभ लिन सक्छ भन्ने यो भ्रमणबाट एक हद सम्म तय हुने आँकलन गरिएको छ ।

