पत्रकार ओम हमाल अदालतको गेटबाट फेरि पक्राउ

Avatar photo
Dhadingpost
भदौ १८, २०७६

काठमाडौं भाद्र १८ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार ओम हमाललाई प्रहरीले मंगलबार अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ ।

विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले कास्कीका क्रियाशिल पत्रकार ओम हमाललाई कास्कीको लेखनाथ खुदीबाट भदौ ६ प्रहरीले पक्राउ गरेको थियो ।

रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीट माथि सुनुवाई गर्दै न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा रिहा हुनेवित्तिकै प्रहरीले उनलाई सर्वोच्चको गेट नजिकैबाट पक्राउ गरेको हो ।

हमल पुन पक्राउ परेपछि पत्रकार सँग आवद्ध विभिन्न संचार संस्थाहरुले खेद व्यक्त गर्दै तत्काल रिहाईको माग गरेका छन् ।
यसअघि नेत्रबिक्रम चन्द (बिप्लब) समूहका कास्की र स्याङ्जा जिल्ला इन्चार्ज कृष्ण वाग्लेसँग अन्र्तवार्ता लिने क्रममा प्रहरीले पक्राउ गरेको हमालको भनाइ रहेको थियो ।

प्रहरीले भने हमाल र बिप्लब समूहका इन्चार्जसहित केही ब्यक्तिहरुसँगै रहेको र पार्टीको काम गरिरहेको भन्ने आशंकामा पक्राउ गरेको जनाएको थियो । यो पछिल्लो पक्राउ बारेमा चाहि प्रहरीले कुन अभियोगमा पक्राउ गरेको हो सार्वजनिक गरेको छैन ।