
काठमाडौं जेष्ठ ३१ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्ने दुरविन कब्जा गरेका छन् । खोटाङको लौरेडाँडाबाट सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा बाइनाकुलर (दुरविन) विप्लवका कार्यकर्ताले कब्जामा लिएका हुन् ।
सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यहरुले यो घटनालाई गुपचुप राखे पनि ‘मन्त्रालयमा त्यसको जानकारी भइसकेको छ भूमि तथा व्यवस्था मन्त्रालयका कर्मचारीले पुष्टि गरे ।
भोजपुरको सिलिचोमा पनि विप्लवका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको टोलीलाई अवरोध गरेका थिए । तर त्यहाँबाट भने उनीहरूले सरकारी अधिकारीको साथमा रहेका प्राविधिक सामान लुटेनन् ।
खोटाङको ऐंसेलुखर्क र मायुङमा पनि विप्लव कार्यकर्ताले सरकारी टोलीलाई अवरोध गरेका थिए । त्यस्तै १२ वटा प्वाइन्ट मध्ये सोलुको माथिल्लो राउजी र तल्लो राउजी, पताले डाँडा, केम्ज्यो डाँडा, बुकुर डाँडा, छुल्यामु, पिके डाँडामा भने विप्लव कार्यकर्ताले सरकारी टोलीलाई कुनै अवरोध गरनन् । आजको नागरीकले खवर प्रकाशित गरेको छ ।
प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले विप्लव कार्यकर्ताले दुरविन कब्जाका लिएको भन्ने जानकारी नआएको तर ती क्षेत्रमा उनीहरुको गतिविधि बढेको सूचनालाई आधार मानेर जेठ ७ र २३ आसपासका दिनमा सुरक्षाकर्मी परिचालन गरेको बताए ।
‘बाइनाकुलर वा अन्य प्राविधिक सामग्रीहरु कब्जामा लिएको भन्नेबारे जानकारी भएन तर त्यस क्षेत्रमा केही अवरोध थियो भन्ने सूचना पाएपछि प्रदेश १ प्रहरी कार्यालयले सुरक्षाकर्मी खटाएको हो’, डिआइजी रिजालले भने। सगरमाथाको उचाइ नाप्न नापी विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली खटिएका थिए । विभिन्न समूहमा १२ बिन्दुमा फरक–फरक टोली गएको थियो । फाईल फोटो

