केशवप्रसाद घिमिरे “भूमत्स्य“।
नेपाली हास्य व्यङ्ग्य साहित्यको क्षेत्रमा कलम चलाउने केही पुराना साहित्यकारहरुलाई छोडेर समकालीन व्यङ्ग्य लेखनलाई आधार बनाएर हेर्ने हो भने पछिल्लो समयमा एक सक्रिय हास्य व्यङ्ग्य लेखकका रुपमा अग्रपङ्क्तिमा घिमिरे मैदेली आउँछन् ।
धादिङको साविकको मैदीगा.वि.स. अर्थात् हालको ज्वलामुखी गाउँपालिका २ मा जन्मेका श्री कृष्णप्रसाद घिमिरे नेपाली साहित्यमा घिमिरे मैदेलीको नामबाट परिचित स्रष्टा हुन् । केही समय देखि बोन म्यारो इन्फेक्सनबाट पीडित भई उपचाररत अवस्थामा मैदेलीको ७० वर्षको उमेरमा मिति २०७६ जेष्ठ ०९ गते सिभिल अस्पतालमा निधन भयो ।
उनको निधनबाट नेपाली साहित्यको हास्य व्यङ्ग्य क्षेत्रमा अपुरणीय क्षति त पुग्यो नै यस क्षेत्रको विधागत लेखनमा शून्यता एवं सुुस्तता छाउनेमा शङका छैन ।
साहित्यिक योगदानको दृष्टिले घिमिरे मैदेलीलाई हेर्दा उनले व्यङ्रग्यको विधागत लेखनमा केही कृतिहरु दिएर गएका छन् । “ट्याब्लेटको मान्छे“ “मैदेलीको मादल“ र “घिमिरेको घुँयेत्रो“ आदि विशेष कृतिहरुले व्यङ्ग्य क्षेत्रलाई विशेष फराकिलो , ओझपूर्ण र सार्थक पारिदिएको छ ।

राष्ट्रिय दैनिकहरु समाचारपत्र, राजधानी, अन्नपूर्ण पोष्ट, धादिङबाट प्रकाशन हुने खवर पत्रिकाहरुमा सयौँ लेख रचनाहरु प्रकाशन भएबाट उनी एक सक्रिय स्रष्टा भई तत्कालीन समाजलाई बिउँझाइ रहने, केही न केही खुराक पस्कि रहने लेखकका रुपमा उनलाई पाइएकाले उनको नेपाली समाज र साहित्यमा विशेष योगदान नै थियो भन्दा अत्युक्ति नहोला ।
व्यक्तिगत आचार विचार तथा स्वभावीय दृष्टिले घिमिरे मैदेलीलाई हेर्दा उनीअलि रसिक, मिजासिलो , हँसाइ हाल्ने , ठट्यौली पाराकाथिए । पारिवारिक, सामाजिक तथा साहित्यिक जमघटमा मैदेलीको प्रवेश सँगै हाँसो मजाक तथा व्यङ्ग्य पनि प्रवेश गरि हाल्थ्यो । अलि ठूलो स्वर भएकाले अलि परपरसम्म हाँसो गुञ्जिन्थ्यो । यस्तो सुनेर मानिसहरु उनी नजिकै आएर बस्ने तथा रमाउने गर्दथे ।
घर, आँगन, बारी र भान्सामा प्राय आफै खटिने, काम नगरी नबस्ने उनको स्वभाव थियो । कि कुटो कोदाली कि त कलम समातेर कर्म पथमा लागि रहने प्रेरणा दायी स्वभाव उनमा थियो अर्थोपार्जनका दृष्टिले घिमिरे मैदेलीलाई हेर्दा उनी खाली हात संघर्षका लागि काठमाडौँ छिरेका हुन् । सुरुमा उनलाई आफ्नै दाजु टङ्कप्रसाद घिमिरे र भाइ रामप्रसाद लगायतबाट बिशेष सहयोग भएता पनि पछि उनी आफैले कर्मपथमा निरन्तर लाग्दै अर्थात् भानुभक्त मेमोरियल विद्यालयमा नेपाली भाषाको विशेषज्ञका रुपमा विभागीय प्रमुखको रुपमा २५ वर्ष भन्दा बढी घोटिएर काठमाडाँैमा छोरा छोरीलाई पढाएर डाक्टर तथा सक्षम बनाउने देखि लिएर घर घडेरी पनि राम्रै जोडेकाबाट उनी आर्थिक उपार्जनमा भनसुन, आफ्नै चतु¥याइँ तथा लगानीबाट सफल अर्थोपार्जक हुनपुगे । उनी सफल पिता, परिवारको कुशल व्यवस्थापक, कुशल अर्थोपार्जकको रुपमा उनलाई लिन सकिन्छ ।
धार्मिक एवम् साँस्कृतिक ज्ञान सापेक्षताका आधार माउनलाई हेर्दा उनी संस्कृत पृृष्ठभूमिबाट हुर्केका व्यक्ति भएकाले र जातले पनि ब्राह्मण विशेष भएकाले खानपानमा केही विचलन आएको देखिएता पनि गीता, रामायण, देवदेवादिको पूजा, सोह््र संस्कार लगायतका कुरामा विशेष ज्ञान थियो नै । कुल पूजा विधि,हिन्दु संस्कार, चालचलन आदिमा पनि राम्रो ज्ञान भएका व्यक्तिका रुपमा उनलाई चिन्न सकिन्छ । उनको निधन पछि परिवारजनमा यो कुराको अभाव रहिरहने छ ।
सामाजिक व्यावहारिकताका दृष्टिकोणबाट घिमिरे मैदेलीलाई हेर्दा उनी समय सापेक्ष सामाजिक व्यक्तिको रुपमा देखा पर्छन् । केही दाजु भाइबीचको र दोस्रो पुस्ताबीच नगण्य असमजदारीलाई छोडेर हेर्ने हो भने उनी जन्मदा, मर्दा, एयरपोर्ट, जेल, आफन्तजनको भेटघाट, सभा समारोह, विवाह तथा ब्रतबन्धमा पुगिहान्ने हुनाले मैदेली अति सामाजिक तथा व्यावहारिक व्यक्तित्व हुन भन्न सकिन्छ ।
राजनैतिक दृष्टिकोणबाट मैदेलीलाई नियाल्दाउनी स्वतन्त्रताका पूजारी नै हुन् । प्रजातन्त्र पक्षधर हुन् । विविध राजनैतिक परिवर्तन ताकाउनले लेखेका लेख तथा विचारहरुबाट यो कुरा पुष्टि हुन्छ । न्यायर समानता समाजले दुई कुरा सधैँ चाहन्छ भन्ने विचार र प्रजातन्त्र, राष्ट्रियता र समाजवादका उनी पक्षपाती थिए । मैदेलीले आफ्नो प्रजातान्त्रिक विचार धारामा कहिले विचलन ल्याएनन् ।
अन्त्यमा रोमाञ्चक किताबको पनि अन्तिम पाना हुन्छ भने झैँ र त्यस पाना पछि अरु पानाहरु नभए जस्तै सधैँ जीवनको उपन्यास अघि बढिरहदो रहेनछ । जीवन भएकाले मृत्यु भएको हो । जीवनभर जीवनलाई स्वीकार्नेले मृत्युलाई पनि स्वीकार्न नै पर्छ । मैदेली आफैले मृत्युलाई त स्वीकार गरे नै हामीलाई नि स्वीकार्नै लगाए । घिमिरे मैदेलीलाई हार्दिक श्रद्धाञ्जली ।
