धादिङका पत्रकारहरुको हातमा कालो पट्टी

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७६

धादिङ जेष्ठ १ । धादिङका पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।

पत्रकार महासंघको पुर्व निर्धारित कार्यक्रम अनुसार धादिङका पत्रकारहरुले ‘मिडिया काउन्सिल विधेयक’ को विरोध गर्दै बुधबार हातमा कालो पट्टी बाँधेर काम गरेका हुन् ।

धादिङका अधिकाँश मिडिया आवद्ध पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर ‘मिडिया काउन्सिल विधेयक’ राज्यले मार्फत प्रेस स्वतन्त्रा माथि अंकुश लगाउन खोजेको भन्दै नेपाल पत्रकार महासंघले गरेको चरणवद्ध आन्दोलनलाई ऐकवद्धता जनाए ।

प्रसे युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले धादिङपोष्ट सँग भने चाकडीतन्त्रलाई प्रश्रय दिइ पत्रकारीतालाई भक्ति गानमा परिणत गर्ने योजना अनुरुप ‘मिडिया काउन्सिल विधेयक’ आएको छ । लोकतन्त्रको आधारभूत मूल्यको रुपमा स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा समेत ग्रहण लाग्ने गरी प्रस्तुत गरिएको विधेयकका विरुद्ध आन्दोलनको विकल्प छैन ।

पत्रकार महासंघले थालेको चरणबद्ध आन्दोलनका आज पत्रकारहरुले कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गरे भने महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच मिडिया काउन्सिल विधेयक बारे बृहद छलफल गरेका छन् ।

यस्तै जेठ ३ गते काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधन सहित बृहद प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

के छ प्रस्तावित ‘मिडिया काउन्सिल विधेयक’मा

पत्रकार आचारसंहिता विपरीत समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । काउन्सिलले आचारसंहिता विपरीत समाचार लेख्नेलाई २५ हजार रुपैयाँदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थाको प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको हो । मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मात्रै प्रतिनिधिसभा सचिवालयमा उक्त विधेयक दर्ता गरेका हुन् ।

विधेयकमा दफा १८ मा भनिएको छ, ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच आएको भनी सम्बन्धित व्यक्तिले दिएको उजुरी प्रमाणित भएमा सम्बन्धित आमसञ्चार माध्यम, प्रकाश, सम्पादक, पत्रकार वा सम्वाददातलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ ।’