प्रेस युनियनद्वारा मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७६

धादिङ जेष्ठ १ । नेपाल प्रेस युनियन जिल्ला शाखा, धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।

सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक र आमसञ्चार विधेयक मिडियालाई निरुत्साहित गर्नेगरि आएको भन्दै नेपाल प्रेस युनियन शाखा, धादिङले मंगलबार धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय मार्फत सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाए हो ।

मिडिया काउन्सिल सम्वन्धि विधेयक, नेपालको स्वतन्त्र पत्रकारीताको घाँटी थिच्ने, पत्रकारीतालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारीतालाई लैजाने गरि आएको ज्ञापनपत्रमा भनिएको छ ।

आमसञ्चार विधेयक सहित पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने, पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने भन्दै त्यसलाई फिर्ता गर्न माग गर्दै नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल प्रेस युनियनले ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई छुट्टाछुट्टै पठाएको ज्ञापनपत्रमा प्रेस काउन्सिललाई विस्थापित गरि मिडिया काउन्सिल गठन गर्दै गर्दा यसको स्वायत्तता र स्वतन्त्र छविलाई समेत किनारा लगाउने प्रयास भएको उल्लेख गरिएको छ ।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिएको छ । जस अन्तरगत आज जेठ १ गते देशभर कार्यक्षेत्रमा खटिएका पत्रकारहरुले कालोपट्टी लगाएर काम गरिरहेका छन् ।