दल आबद्ध पत्रकार संगठन भङ्ग गर्न, विवेकशीलको माग

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७६

काठमाडौ बैशाख ३० । साझा विवेकशील पार्टीले पत्रकारहरूको हकहितको रक्षाका लागि गैर राजनीतिक एउटा छाता संगठन हुनु पर्ने र दल आबद्ध सबै पत्रकार संगठनहरु भङ्ग गरिनु पर्ने माग गरेको छ ।

‘मिडिया काउन्सिल विधेयक’ बारे आफ्ना विचार राख्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले स्वतन्त्र र जिम्मेवार प्रेसको रक्षा गर्न पत्रकारहरुको दलै पिच्छे भगिनी संगठन बनाइनु नहुने बताएका छन् ।

नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठीत गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘मिडिया काउन्सिल विधेयक’ आएको समेत उनले दावी गरे ।

नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले विधेयक ल्याउन लागेको भन्दै साझा विवेकशीले आपत्ति जनाएको छ ।