
धादिङ बैशाख १५ । नेपाल तरुण दल धादिङले सरकारले देशमा बेथिति गरेको जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अत्याचारको विरुद्ध नेपाल तरुण दल देशभर आन्दोलनरत छ त्यहि आन्दोलन आन्दोलनको कार्यक्रम अनुसार जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री ज्ञापन पत्र बुझाएका हौं तरुणदल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई बनेको सरकारले आफ्ना जनजीविकाको पक्षमा कार्य गरी पूर्ण न्याय र समृद्धिको लागि कार्य गर्ने आशा गरिएको थियो । यसको उल्टो वर्तमान ओली सरकार अपराधी ढंगबाट प्रस्तुत भएको आरोप सहित तरुणदलले देशका ७७ वटै जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र पठाएको हो ।
राज्य तहबाटै संरक्षित भई देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अत्याचारको विरुद्ध नेपाल तरुण दल गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको ज्ञापन पत्रमार्फत तरुण दलले सरकारलाई चेतावनी दिएको छ ।
‘गत आम निर्वाचनपछि एमाले र माओवादीको एकता भई बनेको पुरातन र घोर जडशुत्रवादी तानाशाही सरकारले नेपाली जनताको लोकतन्त्रको मूल्य र मान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा र व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको खिल्ली उडाउँदै गरेका घोर अकर्मण्यता एवं जनतामारा र राष्ट्रघाति कार्यहरू तत्काल बन्द गरी न्यायसंगत ढंगबाट जनताका जीवनयापन र कानूनी राज्यको अवधारणासंग गाँसिएका तपशिल बमोजिमका गम्भीर विषयहरुका बारेमा न्यायिक समाधान तत्काल खोज्न नेपाल तरुण दल यस ज्ञापन पत्र मार्फत वर्तमान सरकारको ध्यानकर्षण गराउँदछ’, ज्ञापन पत्रमा भनिएको छ ।
तरुण दलका मागहरू
१. निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १० महिना भईसकेको छ । यस्तो जघन्य अपराधीक घटनामा संलग्न बलात्कारी एवं हत्याराहरुको पहिचाहन र उनीहरुलाई हदै सम्मको कारवाही नभएकोमा नेपाल तरुण दल गम्भीर आपत्ति प्रकट गर्दै यस कुकृत्यमा संलग्न अपराधीहरुलाई तत्काल कानूनको कठघरामा ल्याउन र निर्मला पन्तलाई न्याय दिन नेपाल तरण दल यसै ज्ञापन पत्र मार्फत सरकार संग जोडदार माग गर्दछ । यस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्न अपराधीहरुलाई लुकाउन र त्यसको ढाकछोप गर्न कतै सरकार त लागेको छैन रु हामी प्रश्न गर्न चाहन्छौँ । यस्तो अपराधमा संलग्न अपराधीहरुलाई तत्काल कारवाहीको दायरामा नल्याईएमा निर्मला पन्तलाई न्याय दिलाउन दल जुनसुकै कदम चाल्न पनि बाध्य हुने र त्यसबाट उत्पन्न गम्भीर परिणामको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी दिन चाहन्छ ।
२. नेपाली जनताले वर्तमान सरकारका सबै तह र तप्कामा गरिएको पाइलै पिछेको भ्रष्टाचारका कारण निकै समस्या भोग्नु परेको यथार्थलाई नेपाल तरुण दलले गम्भीर ढंगबाट लिएको छ । देशमा जताततै व्यप्त वर्तमान सरकारकै संरक्षणमा भएका भ्रष्टाचारको अन्त्य गर्न र राष्ट्रलाई शून्य भ्रष्टाचारमा ल्याई जनताको दैनिक जीवनलाई सहज र सरल बनाउन दल जोडदार माग गर्दछ ।
३. नेपाल वायुसेवा निगममा वाईड बडी जहाज खरिदमा भएको अकुत भ्रष्टाचारको नेपाल तरुण दल घोर निन्दा र भत्र्सना गर्दछ । नेपाल र नेपाली जनताकै बेइज्जत र शिर निहुराउने गरी यस अधिनायकवादी सरकारले गरेको अरबौँको भ्रष्टाचारको तुरुन्त छानबिन गरी भ्रष्टाचारीलाई कारवाही गर्न दल जोडदार माग गर्दछ ।
४. एनसेलले बुझाउनु पर्ने ७० अर्ब भन्दा बढी राजस्व यस वर्तमान सरकारले विभिन्न बहाना गर्दै एनसेल संग असुलउपर नगरी नेपाली जनताको समृद्धको चाहानालाई कुठाराघात गर्दै अध्यारो कुनाबाट नाजायज तवरले राजस्व छल्नेहरु संग गरेको राष्ट्रघाती साँठगाँठको नेपाल तरुण दल घोर निन्दा गर्दै एनसेलले तिर्नुपर्ने राजस्व तत्काल असुलउपर गर्न जोडदार माग गर्दछ ।
५। राजधानीका जनताको दशकौ देखिको मेलम्चीको पानी खाने सपना आज वर्तमान भ्रष्टाचारी ओली सरकारको अर्कमण्यता र कुकृत्यको कारण अधुरै भई ठेकेदार कम्पनी समेत पलाएन भएकोमा नेपाल तरुण खेद प्रकट गर्दछ । वर्तमान सरकारका जिम्मेवार मन्त्री विना मगरको गैरजिम्मेवार र भ्रष्टाचारी चरित्रका कारण अबरुद्ध हुन गएको मेलम्ची परियोजना भ्रष्टाचार रहित ढंगबाट छिटो भन्दा छिटो सम्पन्न गर्न सरकार संग नेपाल तरुण दल जोडदार माग गर्दछ ।
६. देशका सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण गर्नुपर्ने सरकारको अहम दायित्वलाई चटक्कै बिर्सेर भूमाफियाहरु संग मिलेर वर्तमान सरकारको संरक्षणमा सरकारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको नाममा लालपुर्जा बाढ्ने काम भईरहेको तथ्य बालुवाटार प्रधानमन्त्री निवास परिसरको जग्गा काण्डबाट प्रष्ट भएको छ । देशका जनताको साझा सम्पत्ति माफियाहरु संग मिलेर सरकारको संरक्षणमा व्यक्तिको नाममा हस्तान्तरण गरिने अक्षम्य भ्रष्टाचारको नेपाल तरुण दल घोर निन्दा र भत्र्सना गर्दै बालुवाटार जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायत सम्पूर्ण व्यक्तिहरुलाई हदै सम्मको कारवाहीको लागि नेपाल तरुण दल जोडदार माग गर्दछ ।

