जग्गा ल्याण्ड पुलिङ रोक्न ज्ञापनपत्र

Avatar photo
Dhadingpost
बैशाख १५, २०७६

धादिङ बैशाख १५ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ का बासिन्दाद्वारा जग्गा ल्याण्ड पुलिङ रोक्न प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय मार्फत उर्जा तथा जलस्रोत मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ का स्थानीय बासिन्दाले बुढिगण्डकी जलविद्युत आयोजना प्रभावितहरु भन्दा बाहेकका जग्गा ल्याण्ड पुलिङ रोक्न मन्त्रालयलाई प्रमसख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

बुढिगण्डकी जलाशय यूक्त आयोजनाबाट विस्थापित हुनेहरुका लागि पुर्नबास गर्ने नाउँमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ को केहि भुभागहरुमा ल्याण्ड पुलिङ गरी पुनरबास गरिने तयारी भएको जनप्रतिनीधिहरुले बताउन थालेको बताउँदै विस्थापित हुने भन्दा बाहेकका अरु कसैको जग्गा ल्याण्ड पुलिङ नगर्न ज्ञापन पत्र बुझाईएको सरोकार समितिका संयोजक फणिकान्त छत्कुलीले बताए ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने धादिङको आरुघाट र खहरे बजार साथै गोरखाको आरुघाट र आर्खेतको छिटो मुआब्जा निर्धारण गर्न समेत सरोकार समितिले दवाव दिँदै आएका छन् ।

कुल १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सम्पन्न हुँदा कुल ४५ किलोमिटर लामो जडभण्डारमा चार अर्ब ४० करोड क्युबिक मिटर पानी जम्मा हुन्छ ।

करिब ५९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको यस आयोजना सम्पन्न हुँदा २ सय ६३ मिटर बाँध बनाएर थुन्दा १ लाख २३ हजार ९ सय रोपनी जग्गा डुबानमा पर्नेछ । बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना डुवान क्षेत्रका ८ हजार १ सय १७ घरपरिवारका ४५ हजार ६ सय जनसंख्या विस्थापित हुने छन् ।