
काठमाडौं बैशाख ११ । राष्ट्रपति विद्या भण्डारी चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी चीनको बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन बुधबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको विमानबाट चीन प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।
राष्ट्रपति भण्डारीको राजकीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरु सहित ४३ सदस्य रहेका छन ।
राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।
राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमणको क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


