बच्चा पिट्न नपाउने कानुन ल्याउँदै सरकार

Avatar photo
Dhadingpost
कार्तिक १८, २०७५

स्कटल्याण्ड, कार्तिक १८ । स्कटल्याण्डका सांसदहरुले बच्चामाथि हुने कुटपिटमाथि प्रतिबन्ध लगाउने नयाँ कानुन ल्याउने तयारी गरेका छन् ।

यस्तो कानुन बनाउन सांसदहरुको एउटा समूहले जनतासँग रायसुझाव लिन सुरु गरेको छ ।

अहिलेसम्म त्यहाँको कानुनले अप्ठेरो अवस्थामा बच्चामाथि कुटपिट गर्ने कुरालाई संरक्षण गर्दछ । यस्तो अवस्थामा त्यहाँका मानवअधिकार संगठनहरु अब बच्चाको अधिकारको वकालत गर्दै अगाडि आएको हो ।

नयाँ कानुनको पक्षमा त्यहाँको चर्च, प्रहरी र विभिन्न समूहहरुले समर्थन गरेका छन् । यो विधेयक पारित भएमा बाबुआमाले आफ्नो बच्चालाई कुटपिट गर्न सक्ने छैनन् । कतिपयले यस्तो विधेयकको विरुद्धमा सशक्त मत राखेका छन् । उनीहरुका अनुसार संसारका १४० देशमा बाबुआमाले आफ्नो बालबालिकालाई कुटपिट गर्ने अधिकार राख्छन् भन्ने तथ्यलाई स्मरण गराइरहेका छन् ।

त्यहााको एक अखबार सन्डे टाइम्स स्कटल्याण्डले उक्त कानुनमाथि एउटा सर्वेक्षण गरेको थियो । १०२४ जनाले मत दिएको उक्त सर्वेक्षणमा केवल ३० प्रतिशतले मात्र यस्तो कानुनको समर्थन गरेका थिए । ५३ प्रतिशतले बाबु आमाले बच्चालाई कुटपिट गर्न पाउनुपर्ने पक्षमा मत राखेका थिए । एक वर्षअघि गरिएको यस्तै सर्वेक्षणमा ७५ प्रतिशत बाबुआमाले कुटपिटमाथि प्रतिबन्ध लगाउने कानुनको समर्थन गरेका थिए ।