जमाल खसोग्गीलाई साउदी युवराजले खतरनाक मुसलमान भनेको खुलासा

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७५

एजेन्सी, कार्तिक १६ । साउदीका युवराज मोहम्मद बीन सलमानले हत्या भएका साउदी पत्रकार जमाल खसोग्गी एक खतरनाक इस्लामिक भएको आफूलाई लागेको अमेरिकासँग बताएका छन् ।

वासिङटन पोस्टको रिपोर्ट अनुसार युवराज सलमानले डोनाल्ड ट्रम्पका ज्वाई तथा वरिष्ठ सल्लाहकार जेरड कुस्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई फोन सम्पर्क गरी खसोग्गी मुस्लिम ब्रदरहुड संगठनका सदस्य भएको बताएका थिए । मुस्लिम ब्रदरहुड एक बहुराष्ट्रिय इस्लामिक संगठन हो ।

मिडिया रिपोर्टका अनुसार युवराज सलमानले कथितरुपमा खसोग्गीको वेपत्तापछि साउदीले उसको हत्या स्वीकार गर्न अघि ह्वाइट हाउससँगको फोनसम्पर्कमा त्यस्तो बताएका हुन् ।

तर साउदी अरबले भने अमेरिकी अखबारहरु वासिङटन पोस्ट र न्युयोर्क टाइम्सका त्यस्ता समाचारहरु झूटो भएको बताएका छन् ।

साथै युवराज सलमानले त्यसै दौरान कथितरुपमा ह्वाइट हाउससँग अमेरिका र साउदीको गठबन्धनलाई सुरक्षित राख्न पनि आह्वान गरेका थिए ।

खसोग्गीको शरीर भने हालसम्म फेला परेको छैन । तर टर्की, अमेरिका तथा साउदी सबैले दुई अक्टोबरमा खसोग्गी हत्या टर्कीस्थित साउदीको वाणिज्य दूतावासमा भएको भन्ने विषयमा सहमत भएका छन् ।

साउदी अरबले उक्त हत्या षडयन्त्रमा त्यहाँको राजपरिवारको कुनै संलग्नता नभएको दावी गर्दै आएको साथै उसले घटनाका सम्पूर्ण वास्तविकता र हत्यारालाई पत्तो लगाउने दृढ संकल्प पनि जनाएको छ ।

तर खसोग्गीको परिवारले उक्त अखबारलाई खसोग्गी मुस्लिम ब्रदरहुडको सदस्य नभएको बयान दिएका छन् । साथै परिवारले पत्रकार जमालले पनि पछिल्ला वर्षहरुमा त्यस्ता आरोपहरुलाई अस्वीकार गर्दै आएका थिए ।

साउदी नागरिक खसोग्गी अमेरिकी अखबार वासिङटन पोस्टका नियमित स्तम्भकार थिए, जहाँ उनी गृहमुलुक साउदीका प्रखर आलोचक पनि थिए ।