योगेशको राधा २ बाट विशाल खरेलको डेब्यु

Avatar photo
Dhadingpost
अशोज १७, २०७५

काठमाडौं, असोज १७ । योगेश घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म राधा २ का लागि प्रियंका कार्की र आयुष्मान देशराज जोशी फाइनल भइसकेका छन् ।

फिल्मको लागि एक नयाँ कलाकार चाहिएको निर्देशक घिमिरेले बताउँदै आएका थिए । अब भने फिल्मका लागि नयाँ कलाकार पनि तय भइसकेको छ । यस फिल्मबाट विशाल खरेलले डेब्यु गर्दैछन्। विशाल राम्रो डान्सर र प्रतिभावान व्यक्तित्व भएका कारण फिल्ममा लिइएको निर्देशक घिमिरेले बताए ।

उनले भने, नयाँ कलाकारलाई ठाउँ दिनुपर्छ भन्ने भएर पनि विशाललाई फिल्ममा लिएको हुँ । अमेरिकामा बस्दै आएका विशाल अहिले फिल्मकै लागि नेपाल आएका छन् । दुई वर्ष अघिको सफल फिल्म राधाको नाम जोडिए पनि यस फिल्मको कथावस्तु फरक रहेको निर्देशक घिमिरेले बताए ।

राधामा मुख्य भूमिकामा प्रस्तुत भएका जीवन लुइँटेल र संचिता लुइँटेल यस फिल्ममा रहनेछैनन् । कात्तिक ८ गतेबाट छायांकनमा जाने फिल्मको हाल वर्कसप चलिरहेको छ । संजय न्यौपानेको लगानी रहने फिल्मको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् ।