टेलिभिन पत्रकारको गोली हानी हत्या

Avatar photo
Dhadingpost
भदौ १४, २०७५

मेक्सिको सिटी, १४ भदौ । मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ ।

जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे ।

टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टी गरेको जनाएको छ ।

क्वीन्टाना राज्यको सरकारले पत्रकार एनरिक सहित अर्को व्यक्तिको पनि गोली हानी हत्या गरिएको जनाएको छ । उनीहरु दुबैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो ।

कानाल १० टेलिभिजन स्टेशनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

यसै वर्ष जुन २९ मा क्वीन्टानाको दक्षिणी मायान आदिवासी गाउँमा जोसे ग्वाडालुप चानको गोली हानी हत्या गरिएको थियो । उनी पनि प्लाया न्यूज अखबरमा संवाददाताको रुपमा कार्यरत थिए ।

गत वर्ष मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । विभिन्न वाकस्वतन्त्रता पक्षधर संस्थाहरुका अनुसार, सन् २००० यतामात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको छ । अधिकांश यी जघन्य अपराधका दोषीमाथि कारबाही नभएको यी संस्थाहरुको भनाई छ ।