गोलाभन्ज्याङ खानेपानी आयोजना अलपत्र, सवै बजेट निकासामा सरोकारवाला निकाय मौन

Avatar photo
Dhadingpost
भदौ १३, २०७५

धादिङ, भाद्र १३ । नीलकन्ठ नगरपालिका वडा नं ११ मा पर्ने गोला भन्ज्याङ खानेपानी योजनाको लागि नगरपालिकाले अनुगमन नगरी पुर्ण बजेट निकासा गर्दा आयोजना अलपत्र परेको छ ।
आर्थिक बर्ष २०७४/७५ मा गोलाभन्ज्याङ खानेपानी योजनाको लागी विनियोजित ३ लाख रुपैयाको लागी चतुरमान बाडाको अध्यक्षतामा उपभोक्ता समिती निर्माण भएको थियो । तर पानीको मुहान सम्बन्धमा विवाद देखिएको भन्दै धादिङ पोष्टले समाचार प्रकाशन गरे पश्चात स्थानीय जनप्रतिनिधीको रोहबरमा गाउँ भेला राखी आयोजना सुचारु गरिएको थियो ।
उक्त खानेपानी आयोजना आर्थिक बर्षको अन्तिम समयमा सुरु गरेको भएपनि उपभोक्ता समितिका अध्यक्ष र सचिवको मिलेमतोमा नक्कली हाजिरी डोर फारम भरि रकम निकासा गरेको भेटिएको छ । उपभोक्ता समितिले नीलकन्ठ नगरपालिकालाई बुझाएको विवरणमा आयोजना सम्पन्न भएको जनाएपनि खानेपानीको पाईप गाउँभन्दा एक किलोमिटर परसम्म मात्रै विछ्याएर अलपत्र छोडिएको छ ।
कुल बजेटको ५० प्रतिशत खर्च नभएपनि विनियोजित रकम पुर्ण रुपमा नगरपालिकाले निकासा गरिसकेको छ । नियमत कुनै पनि आयोजना सम्पन्न भए नभएको, इस्टिमेट अनुसार सामाग्री प्रयोग गरे नगरेको नगरपालिकाले अनुगमन गरेपछि बल्ल बजेट निकासा हुने गर्छ । तर काम सम्पन्न नुहदै बजेट निकासा हुनु र आयोजना अलपत्र पर्नुले उक्त आयोजना नीलकन्ठ नगरपालिकाबाट कुनै पनि अनुगमन नभएको देखिएको छ ।
उक्त खानेपानी आयोजनाको सन्दर्भमा प्रश्न गर्दा उपभोक्ता समितिका अध्यक्षले बजेट निकासा भइसकेकोले आफुलाई सरोकार नभएको जवाफ दिने गरेको स्थानीयबासीको गुनासो छ । साथै खानीपानी आयोजना सम्पन्न नभई बजेट निकासा भईसक्दा र आयोजना अलपत्र हुदा समेत स्थानीय जनप्रतिनिधीहरु मौनता साँधेर बस्नुले स्थानीयबासीहरु समेत अचम्मित भएका छन् ।