जिरोना (एजेन्सी), भदौ ११ । स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा शानदार जित निकालेको छ ।
जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले एक गोल फर्काए । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो ।
१६औं मिनेटमा बोर्जाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो । रियलका डिफेन्डरले फल अपिल गरिरहँदा लोजानको प्रहारलाई गोलरक्षकले बचाएपनि अर्को प्रयासमा बोर्जा गोल गर्न सफल भएको हो । एक गोलले पछि परेपछि रियल खेलमा थप आक्रमक बन्दै पहिलो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गर्न सफल भयो । ३९औं मिनेटमा डि–बक्समा मार्को एसेन्सियोलाई मुनिइसाले लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जसमा कप्तान सर्जियो रामोस चुकेनन् ।
यो खेलमा पनि रियलले आफ्ना पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको कुनै अभाव हुन दिएन । रियलले यसअघि पहिलो खेलमा गेटाफेमाथि २–० को जित निकालेको थियो ।
जितसँगै रियल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियलले गोल अन्तरमा साविकको विजेता बार्सिलोनालाई पछि पारेको हो । जिरोना एक अंकसहित १६औं स्थानमा छ ।
५२ औं मिनेटमा फेरि एसेन्सियोलाई डि–बक्सभित्र पल गरेपछि रियलले अर्को पेनाल्टी पायो । यसपटक करिम बेन्जेमाले सहज गोल गर्न सफल भए । ५९ औं मिनेटमा ग्यारेथ बेलले इस्कोको पासलाई गोलमा परिणत गरेपछि रियलले खेलमा ३–१ को अग्रता बनाउन सफल भयो ।
