एजेन्सी, भदौ ७ । भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको दिल्ली अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएको छ ।
उनको बिहीबार बिहान नयाँ दिल्लीस्थित दिल्ली अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएको हो । सन् १९२४ जन्म अगस्ट १४ मा अहिलेको पाकिस्तानको सियालकोटमा जन्मिएका नैयरले यूएनआई, पीआईबी, द स्टैट्समेन, इंडियन एक्सप्रेसमा लामो समय काम गरेका थिए ।
उनका स्तम्भ लेखन र रिपोर्टिङ चर्चित छ । नैयरले २५ वर्ष द टाइम्स लण्डनको संवाददाताका रुपमा काम गरेका थिए। उनले भारत सरकारको प्रेस सूचना अधिकारी पदमा लामो समय काम गरेका थिए। नैयरलाई सन् १९९६ मा संयुक्त राष्ट्रसंघका लागि भारतीय प्रतिनिधि मण्डलको सदस्य बनाइएको थियो । त्यस अघि उनी १९९०मा ब्रिटेनमा उच्चायुक्त भएर काम गरेका थिए भने १९९७ मा राज्यसभाको उम्मेदवार पनि बनेका थिए ।
नैयरका थुप्रै पुस्तक समेत प्रकाशित छन् । उनी पत्रकारका साथै सामाजिक अभियन्ता पनि हुन् । उनको बिहीबार दिउँसो अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
