बेइजिङ, भदौ ७ । संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारी साधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा अरर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् ।
दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसे लगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुई दिने वार्ताको विस्तृत विवरण भने प्रकाशमा ल्याइएको छैन ।
अमेरिकाले राज्यको अग्रसरतामा प्रविधि विकासका कार्य रोक्न बेइजिङ माथि दबाब दिइआएको छ तर चीनले त्यसलाई अस्वीकार गरिरहेको छ । चीनको यस कदमले बजारमा प्रतिस्पर्धी स्थिति उत्पन्न नहुने अमेरिकाको भनाई छ । तत्काल कुनै सम्झौता नहुने स्थितिप्रति सङ्केत गर्दै अर्थविज्ञहरुले सन् २०२० सम्म विश्वको आर्थिक वृद्धि ०.५ प्रतिशत विन्दुको हाराहारीमा मात्र रहने चेतावनी दिएका छन् ।
सवारी साधन र धातुजन्य बस्तु समेतका दुवै मुलुकका १६ अर्ब डलर बराबरका सामग्रीमा दण्डजरिवाना लाग्नेछ । गत महिना पनि दुबै मुलुकले एकअर्काका ३४ अर्ब डलरका सामानमा करबृद्धि गर्ने घोषणा गरिएको थियो । पहिलो चरणको करबृद्धि भनिएको यो घोषणा सँगै दुबै मुलुकबीच अब ५० अर्ब डलर बराबरका सामानमा करबृद्धि हुने छ ।
