सिपीएलमा सन्दिपले लिए डेविड वार्नरको विकेट

Avatar photo
Dhadingpost
भदौ ६, २०७५

काठमाडौँ, भदौ ६ । वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपिएलं) मा नेपाली युवा बलर सन्दिपले २ विकेट लिएका छन् ।

सेन्ट लुसिया स्टारले दिएको ७० रनको झिनो लक्ष्य सेन्ट किट्सले ८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । सेन्ट किट्सका लागि डिभोन थोमसले नटआउट ३८ रन जोडे । ब्रान्डन किङले १७ रन बनाए । इभिन लेभिस १३ रनमा आउट भए । सेन्ट लुसियाका मिचेल म्याचिङघलम र केभिज हजले समान १ विकेट लिए ।

२ ओभर बलिङ गरेका लामिछानेले १३ रन खर्चिएर २ विकेट लिएका हुन् । उनले डेभिड वार्नरलाई कट एन्ड बोल्ड तथा अहमेद क्वेजलाई आउट गरे । सीपिएलमा सन्दीपको यो सातौ विकेट हो । यसअघिका तीन खेलमा सन्दीपले ५ विकेट लिन सफल भएको थियो ।

सेन्ट किट्सले अब २५ अगस्टमा बार्वाडोस ट्रिडेन्ससँग खेल्नेछ । त्यसपछिका खेलहरु भने सन्दीपले गुमाउनेछन् । सन्दीप २८ अगस्टमा नेपाली राष्ट्रिय टिमसँग जोडिनेछ । नेपाली टोली एसिया कप छनोटको तयारीमा छ ।

यसअघि डारेन सामी नेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया १२ ओभर ३ बलमा ६९ रनमा खुम्चियो । उसका लागि अहमेद क्वेजले सर्वाधिक २४ रन बनाए । डेभिड वार्नरले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
सेन्ट लुसियालाई कम रनमा समेट्न सेल्डन कट्रेलले ३ विकेट लिए । सन्दीप लामिछाने र मामदुल्लाहले समान २ विकेट लिए । कार्लोस ब्रेथवेट र वेन कटिङले समान १ विकेट लिए । चार खेलबाट दुई जितसँगै सेन्ट किट्स अंक तालिकाको चौथो स्थानमा उक्लएको छ ।