काठमाडौं, भदौ ३ । स्टार स्ट्राइकर रोनाल्डोले डेब्यू गरेको खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३–२ ले विजयी भयो ।
इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध रोमाञ्चक जीत निकालेको छ ।
११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले गरेको गोलले भने मान्यता पाएन ।
इन्जुरी समयमा रोनाल्डोले गरेको गोलले मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन ।
तर पनि इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिकोले निर्णायक गोल गर्दै युभेन्टसलाई ३–२ को जीत दिलाउन सफल भए ।
सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा स्टेपिन्स्कीले बराबरी गोल फर्काए । ५६ औं मिनेटमा किएभोले अग्रता लियो ।
पेनाल्टीलाई गोलमा परिणत गर्दै इमानुएल जाकिरीले किएभोलाई २–१ को अवस्थामा पुर्याए । तर, किएभोलाई ७५ औं मिनेट दुःखद भयो किनभने मातिया बानीले आफ्नै पोष्टमा गोल गरेपछि खेल युभेन्टस २–२ को बराबरीमा फर्कियो ।
