काठमाडौं, साउन ३१ । नेपालले भियतनामलाई हराउन सकेका खण्डमा नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउने छ । पराजित भयो भने नेपाल समूह चरणबाटै बाहिरिने छ ।
इन्डोनेसियामा जारी एसियाली खेलकुद एसियाडको फुटबलको समूह चरणको दोस्रो खेलमा नेपालले बिहिबार भियतनामसँग खेल्दैछ ।
मंगलबार भएको पहिलो खेलमा नेपालले जापानसँग १–० को झिनो हार बेहोरेकाले आत्मविश्वास बढेको छ । तर भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेकाले नेपालमाथि पनि हावी हुन खोज्नेछ ।
नेपालले यसअघि जापानसंग एसियाडमा ५–० को हार दुई पटक र ४–० को हार एक पटक बेहोरेको थियो । विहिबारै जापानले पाकिस्तानसंग खेल्दैछ ।
जापानविरुद्ध ३–० सम्मको हारले पनि नेपाली खेलाडीले सय डलर पाउने थिए । खेल्न जानुअघि एन्फाले जापानविरुद्ध ३–० सम्मको हारले सय डलर, भियतनामलाई जित्दा १५० डलर र पाकिस्तानलाई जित्दा सय डलर दिने घोषणा गरेको थियो ।
