आर्यन र साम्राज्ञीको क्रेज हजारमा, ‘कायरा’ करोडमा

Avatar photo
Dhadingpost
साउन २०, २०७५

काठमाडौं, साउन २० । शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ ले घरेलू बजारमा सुखद सुरुवात गरेको छ ।

शुक्रवारभन्दा फिल्मको कलेक्सन ग्राफ शनिवार उकालो लागेको छ । शनिवार बिहान ६५ प्रतिशत रहेपनि ‘कायरा’ ले दिउँसोदेखि साँझसम्म शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । बिहान पानीका कारण सिंगल थिएटरमा दर्शकको उपस्थिति न्यून भएपनि मल्टिप्लेक्समा राम्रो थियो ।

विशेषतः यो फिल्मलाई युवा वर्गका दर्शकले रुचाएका छन् । आर्यन र साम्राज्ञीको जोडीको तारिफ भएको छ । फिल्म हेर्न हल पुग्नेहरु १६ र २० वर्ष उमेर समुहका बढी छन् । समीक्षक र दर्शकको एक ठूलो वर्गले भने फिल्मको कथालाई लिएर आलोचना गरेका छन् ।

फिल्म हेर्न हल पुगेका दर्शकसँग साक्षात्कार गर्न आर्यन र साम्राज्ञी शनिवार विभिन्न हलमा पुगेका थिए । काठमाण्डौको अष्टनारायण हलमा पुगेको यो कपलसँग तस्बिर खिचाउनेको भिड नै लाग्यो । अष्टनारायणको हजार सिट संख्याको हल दिउँसो २ बजे हाउसफुल भएको थियो ।

शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले फिल्म हेरे । राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रहे ।

यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए । उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका फिल्महरुभन्दा उच्च रहेको दाबी गरेका छन् ।

फिल्मका निर्माता समेत रहेका अभिनेता आर्यन सिग्देलले दर्शकको साथ र मायाबाट आफू प्रफुलित भएको सुनाए । उनी भन्छन्, ओपनिङदेखि नै पानी परिरहेको छ ।

तर दर्शकले पानीलाई पनि मात दिएर हलसम्म गएर फिल्म हेरिरहनु भएको छ, त्यो हाम्रो लागि खुसीको कुरा हो । उनले आफ्नो र साम्राज्ञीको केमेस्टी रुचाइदिएकोमा पनि दर्शकलाई धन्यवाद दिए ।

अभिनेत्री साम्राज्ञी फिल्मलाई मिलेको सुखद प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन् । उनी भन्छिन्, हाम्रो मिहिनेत कस्तो होला भन्ने खुब डर थियो ।