एजेन्सी, साउन १८ । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन् ।
पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ।
नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्वीट गर्दै भन्नुभएको छ, “चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं। यो नयाँ सुरुआत हो । हामी हात मिलाऔं, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भातृत्व कायम गरौं।”
मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेका थिए। उनका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। तर विपक्षीहरुले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने वा सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन्।
मतदानको दिन शान्तिपूर्ण रहेपनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो। हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो।
