काठमाडौं, साउन ८ । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएको छ ।
राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् ।
आगो नियन्त्रणबाहिर गएपछि ग्रिसले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । बोस्नियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि सबैखाले प्रयासहरु गरिएको बताएका छन् ।
ग्रिस सरकारका प्रवक्ता डिमिथिस टान्जाकोप्लोसले मंगलबार बिहान मृतकको संख्या २० पुगेको बताएका छन् । १०४ जनाभन्दा बढी घाइते भएकोमा ११ जनाको अवस्था गम्भीर रहेको डिमिथिसले जनाएका छन् ।
आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक खटिए पनि प्रयास सफल हुन सकेको छैन ।
