काठमाडौं, असार ८ । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।
बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको हो ।
अब अर्जेन्टिनाको विश्वकपको यात्रा आफ्नो हातमा छैन । पहिलोे खेलमा आइसल्याण्डसँग १–१ को बराबरी खेलेको उसको १ अंक मात्र छ र समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग खेल्नेछ ।
तर, यदि भोलि आइसल्याण्डले नाइजेरियालाई हरायो भने अन्तिम खेलमा क्रोएसियासँग बराबरी खेल्दा नकआउट चरणमा पुग्छ ।
धेरै अर्जेन्टिना समर्थकहरुले लिओनल मेस्सीको आफ्नो टिमको उद्दार गर्ने अपेक्षा गरेका थिए । तर, गोलकिपर बिली क्याबलेरोले त्यो अपेक्षामाथि पानी खन्याउने काम गरे ।
उनको गल्तीमा क्रोएसियाका एन्टे रेबिकले सुरुवाति गोल गरेका थिए ।
दोसो हाफमा क्रोएसिया केही डिफेन्सिभ थियो । तर, पाएको मौकालाई सदुपयोग गर्यो । लुका मोडरिकले ८० औं मिनेटमा गोल गरे ।
त्यसअघि गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा मेस्सी मैदानमा कहिले यता त कहिले उता भौतारिरहेका थिए ।
क्रोएसियाको जित पक्का भइसकेको थियो तर, इन्जुरी टाइममा इभान राकिटिकले गोल थप्दै अर्जेन्टिनाका लागि विर्सनलायक साँझ बनाइदिए ।
