नेपाली मूलकी महिला दक्षिण कोरियाकै पहिलो विदेशी प्रहरी

Avatar photo
Dhadingpost
असार १, २०७५

एजेन्सी, असार १ । नेपाली मूलकी एक महिला दक्षिण कोरियाकै पहिलो विदेशी प्रहरी भएकी छन् ।

दक्षिण कोरियाली नागरिकसँग बिहे गरेर गएकी २८ वर्षीया सम्झना राईले हालै राज्य–प्रशासन प्रहरी परीक्षा पास गरेकी ग्वान्जुस्थित चोसुन विश्वविद्यालयले जानकारी दिएको छ। उनी विश्वविद्यालयमा प्रहरी प्रशासन संकायकी सिनियर विद्यार्थी थिइन् ।

यसरी प्रहरीमा नियुक्त हुने आफू पहिलो विदेशी विद्यार्थी भएकामा राईले भनेकी छन्, ‘प्रहरी अधिकृत बन्ने मेरो यात्रा एकदमै लामो र गाह्रो रह्यो । मेरा प्राध्यापक र साथीहरूको साथले मलाई यहाँसम्म ल्याइपुर्याएको छ। यसनिम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

कोरिया टाइम्सका अनुसार कोरियाभन्दा बाहिरका देशबाट प्रहरी परीक्षा पास गर्ने सम्झना पहिलो विद्यार्थी हुन् ।

राईले अब केन्द्रीय प्रहरी एकेडेमीमा पूर्व–नियुक्तिको ८ महिने तालिम लिनुपर्नेछ । त्यसपछि जेयोन्जी प्रान्तीय प्रहरी एजेन्सीमा वैदेशिक मामिला विभागमा काम गर्नेछिन् ।

राई सन् २०१० मा नेपालबाट दक्षिण कोरिया पुगेकी थिइन्। उनी दम्याङ, दक्षिण जिओला प्रान्तमा बस्छिन् ।

सन् २०१५ मा उनी विश्वविद्यालय भर्ना भएकी थिइन् ।