
काठमाडौँ, जेठ १७ । इङ्ल्याण्डको लर्डस मैदानमा बिहीबार वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुँदैछ ।
जसमा विश्व च्याम्पियन वेष्टइन्डिज एकातिर र विश्वका उत्कृष्ट ११ क्रिकेट खेलाडी एकातिर भएर खेल्नेछन् ।
विश्वका उत्कृष्ट खेलाडी रहेको विश्व एघारमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने पनि समावेश छन् । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई दिल्लीमार्फत इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने मौका मिलेको थियो । जसमा उनले राम्रो प्रदर्शन गरेर वाहवाही कमाएका थिए । दिल्लीबाट पछिल्ला ३ खेलमा बलिङ गर्ने अवसर पाएका सन्दीपले ५ विकेट विकेट लिएका थिए । विश्व एघार र वेष्टइन्डिजबीचको खेलमा पनि सन्दीपले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सो खेलमा उनले कस्तो खेल प्रस्तुत गर्लान् भन्ने जिज्ञासा सबैमा जागेको छ ।
विश्व एघार टीमबाट मोर्गन, अफ्रिदी, शोएब मलिक, थिसारा परेरा, राशिद खान, शाकिब अल हसन, तमीम इकबाल, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, ल्यूक रोंची, मिशेल मेक्लेघनजस्ता खेलाडीलाई यसअघि समावेश गरिएकोमा केही खेलाडीले आफ्नो नाम फिर्ता लिएका छन् ।
आईसीसी विश्व एघार टीम
शाहिद अफरीदी (कप्तान), साम बिलिङ्गस (विकेट कीपर), साम कुरान, तमीम इकबाल, टेमल मिल्स, दिनेश कार्तिक (विकेट कीपर), राशिद खान, सन्दीप लामिछाने, मिशेल मेक्लेघन, शोएब अख्तर, थिसारा परेरा, ल्यूक रौन्ची (विकेट कीपर), आदिल राशिद र मोहम्मद शामी ।
टीम वेस्टइन्डिजः
कार्लोस ब्राथवेट (कप्तान), स्यामुएल बद्री, रायाद एमरिट, एन्ड्रे फ्लेचर, क्रिश गेल, एविन लेविस, एश्ले नर्स, कीमो पउल, रोवमान पोवेल, दिनेश रामदीन (विकेट कीपर), एन्ड्रे रूसेल, मार्लोन सामुएल्स र केसरिक विलियम्स ।
