ग्रामीण यातायात धादिङ प्रालिद्वारा बाढीपीडितलाई ५५ हजार ५५५ सहयोग

Avatar photo
Dhadingpost
भदौ १८, २०८३

धादिङ । धादिङबाट सहरी तथा ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको ग्रामीण यातायात धादिङ प्रालिले बाढीपहिरो प्रभावित नागरिकका लागि ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

ग्रामीण यातायात धादिङ प्रालिले रसुवा, नुवाकोट र धादिङका बाढीपहिरोपीडितलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ जम्मा गरेको हो ।

हालै आएको बाढीपहिरोका कारण धादिङसहित रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको प्रालिले जनाएको छ ।

विपद्का बेला सहयोग गर्दै आएको ग्रामीण यातायात

ग्रामीण यातायात धादिङ प्रालिले यसअघि पनि विभिन्न विपद् तथा सामाजिक गतिविधिमा सहयोग गर्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को संकटका बेला समेत प्रालिले सहयोग गरेको थियो ।

त्यसैगरी, धादिङ जिल्लामा हुने खेलकुद, स्वास्थ्य तथा विभिन्न सामाजिक गतिविधिमा समेत ग्रामीण यातायात धादिङ प्रालिले आर्थिक सहयोग गर्दै आएको जनाएको छ ।

विपद्पीडितको साथमा ग्रामीण यातायात

ग्रामीण यातायात धादिङ प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिन संस्था सधैँ तयार रहेको बताए ।

उनले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

ग्रामीण यातायात धादिङ प्रालिले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।