गजुरीबासीले अलपत्र यात्रुलाई दुई दिन निःशुल्क खाना खुवाएर बचत भएको १ लाख राहत कोषमा पठाए

Avatar photo
Dhadingpost
भदौ १६, २०८३

धादिङ । बाढी तथा पहिरोका कारण गजुरीमा अलपत्र परेका यात्रुहरूलाई स्थानीय युवाहरूले भदौ ११ र १२ दुई दिनसम्म निःशुल्क खाना खुवाएर बचत भएको १ लाख रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेका छन् ।

गजुरीका युवाहरूको पहलमा विपद्का बेला अलपत्र यात्रुहरूका लागि सञ्चालन गरिएको निःशुल्क भोजन अभियानमा ४ सयभन्दा बढी यात्रुले खाना खाएको आयोजकले जनाएको छ । अभियानका क्रममा सहयोगीहरूबाट संकलन भएको रकममध्ये आवश्यक खर्च व्यवस्थापन गरी बाँकी १ लाख रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको हो ।

अभियानबाट नगद तथा खाद्य सामग्री गरी सहयोग प्राप्त भएको र नगदतर्फ कुल १ लाख ६३ हजार ७० रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरिएको छ । सोही बराबरको रकम अभियान सञ्चालन तथा राहतमा खर्च भएको जनाइएको छ ।

सार्वजनिक विवरणअनुसार बिगमार्टबाट चामल खरिदमा १० हजार १ सय रुपैयाँ, मगर इन्टरप्राइजेजबाट खरिदमा ८ हजार १ सय १० रुपैयाँ, ग्यासमा २ हजार ६० रुपैयाँ र विपद्का कारण अत्यन्त समस्यामा परेका परिवार तथा यात्रुका लागि राहत वितरणमा ४२ हजार ८ सय रुपैयाँ खर्च भएको छ। बाँकी १ लाख रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिएको हो।

सहयोगीप्रति आयोजकको आभार

निःशुल्क भोजन अभियान सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

गजुरी सामुदायिक विकास समाजलाई टेन्ट तथा भाँडाकुँडा सहयोगका लागि धन्यवाद दिइएको छ । त्यस्तै, सञ्जय श्रेष्ठ र अर्जुनकुमार श्रेष्ठलाई आँगन तथा कोठाहरू प्रयोग गर्न उपलब्ध गराएकोमा आभार व्यक्त गरिएको छ ।

मिठो खाना पकाउन पूर्ण समय खटिनुभएका सुरेश महर्जन तथा उहाँलाई खाना पकाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति पनि आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

त्यस्तै, ज्ञानु बर्तौलालाई हिल ट्यांक तथा स्ट्यान्ड प्रयोग गर्न दिएकोमा आभार व्यक्त गरिएको छ ।

खाना बाँड्ने, तरकारी काट्ने, भाँडा माझ्ने, सरसफाइ गर्ने तथा भाँडाकुँडा र टेन्ट ओसारपसारमा सहयोग गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई आयोजकले सामूहिक रूपमा धन्यवाद दिएको छ ।

अभियानमा सहयोग गरे पनि नाम उल्लेख हुन छुटेका सबै सहयोगीप्रति अझ विशेष आभार व्यक्त गर्दै आयोजकले विपद्का समयमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

विपद्मा गजुरीबासीको मानवीय पहल

बाढी तथा सडक अवरुद्ध भएपछि गजुरी क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई स्थानीय युवाहरूले तत्काल खाना उपलब्ध गराएर मानवीय सहयोग गरेका थिए । दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क भोजन अभियानबाट यात्रुलाई राहत दिनुका साथै बाँकी रकमसमेत विपद् राहत कोषमा पठाएर गजुरीबासीले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् ।