
धादिङ । नीलकण्ठ नगरपालिका–४, सिपी नगरस्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले बाढीपहिरो प्रभावितका लागि ४ लाख ४४ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।
रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोग कार्यक्रम घोषणा गरेको हो ।
विद्यालयद्वारा जारी विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कुल रु. ४ लाख ४४ हजार ३८२ सहयोग गरिने भएको छ ।
विद्यालयका तर्फबाट एकमुष्ट रु. २ लाख ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिनेछ ।
त्यसैगरी, प्याब्सन (PABSON) तथा अन्य सामाजिक संघसंस्थामार्फत रु. १ लाख सहयोग उपलब्ध गराइने भएको छ ।
विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीको दुई दिनको आधारभूत तलब बराबर रु. १ लाख ४४ हजार ३२७ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयले जनाएको छ ।
यसरी विद्यालयको सहयोग, प्याब्सन तथा अन्य सामाजिक संघसंस्थामार्फत प्राप्त सहयोग र शिक्षक–कर्मचारीको तलबबाट गरी कुल रु. ४ लाख ४४ हजार ३८२ राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।
अभिभावक गुमाएका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा
विद्यालयले बाढीका कारण आफ्ना आमा वा बुबा गुमाएका तथा आर्थिक कठिनाइमा रहेका प्रभावित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
त्यस्ता विद्यार्थीको वार्षिक तथा मासिक शुल्क पूर्ण रूपमा मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने विद्यालयले जनाएको छ । प्राकृतिक विपत्तिका कारण बालबालिकाको शिक्षा प्रभावित हुन नदिन र उनीहरूको निरन्तर शिक्षालाई सुनिश्चित गर्न यस्तो निर्णय गरिएको विद्यालयको भनाइ छ ।
