धादिङ नेपाली समाज अमेरिकाले बाढीपहिरो प्रभावितका लागि ५ हजार २ अमेरिकी डलर सहयोग गर्ने

Avatar photo
Dhadingpost
भदौ १५, २०८३

धादिङ । हालैको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको तत्काल राहत, सहयोग व्यवस्थापनका लागि धादिङ नेपाली समाज अमेरिकाले ५ हजार २ अमेरिकी डलर बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

धादिङ नेपाली समाज अमेरिकाका पदाधिकारीहरूको अगस्ट २९, २०२६ मा बसेको बैठकले विपत्तिबाट प्रभावित नागरिकलाई लक्षित गरी तीन महत्वपूर्ण निर्णय गरेको हो ।

समाजले तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ हजार १ अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम तत्काल उपलब्ध गराइने समाजले जनाएको छ ।

त्यसैगरी, तत्कालीन राहत (Immediate Response) का लागि ४ हजार १ अमेरिकी डलर बराबरको राहत सामग्री खरिद गरी वितरण गर्ने निर्णय गरिएको छ । धादिङ नेपाली समाज अमेरिका र अन्तर्राष्ट्रिय धादिङ समाजको सहकार्यमा धादिङ जिल्लाका गजुरी गाउँपालिका र गल्छी गाउँपालिकाका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरिने भएको हो ।

राहत सामग्रीअन्तर्गत म्याट, फाइबर ब्ल्याङ्केट (सिरक), ट्र्याकसुट, झुल, भान्साका सामग्री, जुत्ता/चप्पल, टी–सर्ट तथा मेडिकल सामग्री लगायतका सामग्री वितरण गरिने समाजले जनाएको छ ।

राहत कार्यक्रमको समन्वय धादिङ नेपाली समाज अमेरिकाका पूर्वसल्लाहकार तथा पूर्वअध्यक्ष रामेश्वर बुर्लाकोटीअन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रतापले गर्ने भएका छन् ।

समाजका अनुसार लाभग्राही पहिचान तथा राहत वितरणका क्रममा नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबाट प्राप्त आधिकारिक तथ्यांक, क्षतिको विवरण र प्रमाणित सूचनालाई आधार बनाइनेछ । उक्त विवरणलाई प्रत्यक्ष फिल्ड अवस्थासँग तुलना गरी वास्तविक आवश्यकता भएका पीडित परिवारलाई राहत उपलब्ध गराइनेछ ।

राहत तथा सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सहयोगी संस्था तथा समुदायसँग आवश्यक समन्वय गर्ने धादिङ नेपाली समाज अमेरिकाले प्रतिबद्धता जनाएको छ।