
धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेँसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–गजुरीटार–पिपलटार–अमनटार–आदमटार–बेलिनटार–क्यूरेनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँग बाहिरी क्षेत्रको सडक सम्पर्क पुनः स्थापित भएको हो ।
त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि धादिङबेँसीसँग काठमाडौंलगायतका बाहिरी क्षेत्रको नियमित सडक सम्पर्क प्रभावित भएको थियो । वैकल्पिक सडक सञ्चालनमा आएपछि सदरमुकामबाट बाहिरी क्षेत्रमा जाने तथा बाहिरी क्षेत्रबाट धादिङबेँसी आउने आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
फुर्केखोलामा बेलीब्रिज माग
वैकल्पिक सडक सञ्चालनमा आए पनि नागरिक समाजले फुर्केखोलामा तत्काल बेलीब्रिज (अस्थायी पुल) निर्माण गर्न माग गरेका छन् ।
फुर्केखोलामा स्थायी तथा भरपर्दो आवागमनको व्यवस्था नहुँदा वर्षायाममा सडक सञ्चालनमा समस्या आउन सक्ने भन्दै नागरिक समाजले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
धादिङबेँसीलाई नियमित र सुरक्षित रूपमा सडक सञ्जालमा जोडिराख्न वैकल्पिक सडकसँगै फुर्केखोलामा तत्काल अस्थायी पुलको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
वैकल्पिक सडक सञ्चालनसँगै हाललाई धादिङबेँसीको सडक सम्पर्क पुनः स्थापित भए पनि दीर्घकालीन रूपमा भरपर्दो सडक तथा पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
