नीलकण्ठ बालमन्दिरका विद्यार्थीले बजारबाट ल्याए ४१ थरी जङ्क फुड, कक्षामै गरे खाद्य सुरक्षा अध्ययन

Avatar photo
Dhadingpost
साउन ३१, २०८३

धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीले बजारमा बिक्री भइरहेका विभिन्न प्रकारका जङ्क फुड तथा प्याकेटबन्द खाद्यवस्तु संकलन गरी खाद्य सुरक्षा (Food Security) सम्बन्धी प्रयोगात्मक अध्ययन गरेका छन्

विद्यालयमा सञ्चालन गरिएको अभ्यासअन्तर्गत विद्यार्थीहरूले बजारबाट आफूले पाएका विभिन्न खाद्यवस्तु विद्यालयमा ल्याएका थिए । ती वस्तुलाई कक्षाकोठामै राखेर विद्यार्थीहरूले प्याकेटमा उल्लेख भएका उत्पादन मिति, म्याद सकिने मिति, कम्पनीको नाम तथा लोगो, गुणस्तर र सामग्री (Ingredients) लगायतका विवरण अध्ययन गरेका हुन् ।

कक्षा ८ मा अध्ययनरत ४६ जना विद्यार्थीमध्ये ४१ जनाले विभिन्न प्रकारका खाद्यवस्तु ल्याएका थिए । विद्यार्थीले ल्याएका सामग्रीमध्ये केही म्याद गुज्रिएका, केहीमा Manufacture Date र Expiry Date उल्लेख नभएका तथा केहीमा आवश्यक सूचना स्पष्ट नभएको पाइएको शिक्षकले बताएका छन् ।

किताबमा पढेको विषय व्यवहारमै अध्ययन

विद्यालयका शिक्षक दिपेन्द्र रिजालका अनुसार विद्यार्थीलाई खाद्य सुरक्षा सम्बन्धी विषयलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यले यो अभ्यास सञ्चालन गरिएको हो ।

विद्यार्थीहरूले बजारबाट खाद्यवस्तु ल्याएर त्यसको प्याकेटमा लेखिएको विवरण आफैं पढ्ने, तुलना गर्ने र कक्षामा त्यसबारे छलफल गर्ने अवसर पाएका छन् ।

रिजालका अनुसार यस्तो अभ्यासले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी दैनिक जीवनमा प्रयोग हुने वस्तुको अध्ययन, विश्लेषण र प्रश्न गर्ने बानीको विकास गर्न सहयोग गर्छ ।

“प्रयोगात्मक विधि हरेक पाठमा प्रयोग गर्न सकिन्छ । यसले विद्यार्थीमा विषयवस्तुको ज्ञानसँगै व्यवहारिक सीप र थप निखारता ल्याउँछ,” रिजालले भने ।

खाद्यवस्तु किन्दा म्याद हेर्न विद्यार्थीलाई अभ्यास

अभ्यासका क्रममा विद्यार्थीले खाद्यवस्तु खरिद गर्दा उत्पादन मिति, म्याद सकिने मिति, सामग्रीको विवरण, कम्पनीको नाम तथा अन्य लेबलसम्बन्धी सूचना हेर्नुपर्ने विषयमा समेत जानकारी लिएका छन् ।

यसले विद्यार्थीलाई आफूले दैनिक रूपमा प्रयोग गर्ने खाद्यवस्तुको गुणस्तरबारे सचेत हुन तथा परिवारका सदस्यलाई समेत सुरक्षित खाद्यवस्तु छनोट गर्न सुझाव दिन सक्ने बनाउने अपेक्षा गरिएको छ ।

विद्यालयले यस्ता प्रयोगात्मक तथा विद्यार्थीकेन्द्रित शिक्षण गतिविधिलाई निरन्तरता दिँदा सिकाइलाई जीवनोपयोगी बनाउन थप सहयोग पुग्ने जनाएको छ ।