
धादिङ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमितिमा धादिङका प्रकाश लोहनी कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।
काठमाडौंको सोल्टी होटलमा शुक्रबार सम्पन्न नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचनबाट लोहनी कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । उनी भरतजंग पाण्डेको प्यानलबाट विजयी भएका हुन् ।
लोहनी प्रवास ट्राभल एण्ड टुर्सका सञ्चालक हुन् । पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय उनले पर्यटन व्यवसायमार्फत स्वदेश तथा विदेशमा सेवा प्रदान गर्दै आएका छन् ।
उनीसँग पर्यटन क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ । मानविकीमा स्नातकोत्तर (MA) गरेका लोहनीले ६० भन्दा बढी देशको भ्रमणमार्फत अन्तर्राष्ट्रिय पर्यटन बजार, सेवा मापदण्ड तथा पर्यटन व्यवस्थापनको व्यावहारिक अनुभव हासिल गरेका छन् ।
निर्वाचनबाट भरतजंग पाण्डेको प्यानल नै नयाँ कार्यसमितिमा निर्वाचित भएको छ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता के.सी. भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली र कोषाध्यक्षमा डिकी शेर्पा निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा सुमनलाल श्रेष्ठ, प्रकाश लोहनी, नवीन गुरुङ, सरला सापकोटा (अधिकारी), दिनेश मैनाली, दीपक मरासेनी, स्वस्तिका प्रधान र दीनानाथ पाण्डे निर्वाचित भएका छन्।
नाट्टाको नयाँ नेतृत्वले पर्यटन व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै पर्यटन क्षेत्रको विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।
