
धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङको आयोजनामा जिल्लाका स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।
धादिङबेसीमा सम्पन्न कार्यशालामा गत आर्थिक वर्षमा सञ्चालन भएका शैक्षिक कार्यक्रमको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट स्वीकृत शैक्षिक कार्यक्रमको कार्यान्वयनबारे छलफल तथा अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा स्थानीय तहगत शैक्षिक तथ्यांक अद्यावधिक तथा प्रगति, गत आर्थिक वर्षका एकाइ तथा स्थानीय तहगत शैक्षिक कार्यक्रमको प्रगति, चालु आर्थिक वर्षका शैक्षिक कार्यक्रमको कार्यान्वयन अवस्था तथा जिल्लाका असल अभ्यासबारे छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति गठन, स्थायी प्रधानाध्यापक व्यवस्थापन, शिक्षक सरुवा तथा नियुक्ति लगायतका विभिन्न शैक्षिक समस्या तथा शिक्षा विकास तथा समन्वय इकाइसँग स्थानीय तहका अपेक्षाका विषयमा समूहगत छलफल गरिएको थियो । छलफलपछि समूहगत रूपमा प्रस्तुतीकरणसमेत गरिएको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा कार्यक्रम सञ्चालन शाखा अधिकृत विजय तामाङले गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शाखा अधिकृत चण्डिका मल्ल ठकुरीले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को प्रगति तथा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रमबारे इकाइ प्रमुख श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए । समूहगत क्रियाकलाप तथा प्रस्तुतीकरणपछि कार्यक्रमका उपलब्धिबारे स्रोतव्यक्ति रामेश्वर पोखरेलले प्रस्तुतीकरण गरेका थिए ।
नयाँ शिक्षा अधिकृतलाई स्वागत
कार्यशालाको अवसरमा नयाँ कार्यक्षेत्रमा आएका धुनिवेशी नगरपालिकाकी शिक्षा अधिकृत देवकी सिंखडा र बेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत सन्तोष पौडेललाई शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यशालामा जिल्लाका १३ वटै स्थानीय तहबाट सहभागी शिक्षा अधिकृत तथा स्रोत व्यक्तिहरूले स्थानीय तहमा भएका असल अभ्यास, शैक्षिक कार्यक्रम कार्यान्वयनका चुनौती तथा सुधारका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।
चालु आर्थिक वर्षमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट स्वीकृत भएका शैक्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्ययोजना आगामी कार्यशालामा निर्माण गर्ने भद्र सहमतिसहित कार्यक्रम समापन गरिएको छ ।
