
राजेन्द्र न्यौपाने
गोरखा । राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवसका अवसरमा सिरानचोक गाउँपालिकाका प्रथम निर्वाचित अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन् ।
नेपाल एकीकरण अभियानका क्रममा महत्वपूर्ण योगदान दिएका अमरसिंह थापाको जन्मस्थलको खोज, पहिचान र प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान, काठमाडौंले गुरुङलाई सम्मान गरेको हो । शनिबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
गुरुङले अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक भएको विषयलाई उजागर गर्दै त्यस क्षेत्रको ऐतिहासिक पहिचान स्थापित गर्न महत्वपूर्ण पहल गर्दै आएका छन् । उनको पहलमा अमरसिंह थापा गोरखा आउँदा–जाँदा हिँड्ने बाटो क्षेत्र अमरपुरमा अमरसिंह थापा र उनका पिता भीमसिंह थापाको शालिक निर्माण तथा पर्यटकीय पूर्वाधार विकासका कामसमेत अघि बढाइएको छ ।
यसका लागि स्थानीय बासिन्दाले समेत जग्गा दान गरेर ऐतिहासिक क्षेत्रको संरक्षण तथा विकासमा योगदान दिएका छन् । अमरसिंह थापाको जन्मस्थललाई उनको नामसँग जोडेर थप चिनारी दिने अभियानसमेत गुरुङकै पहलमा अघि बढाइएको बताइएको छ ।
यसअघि इतिहासविद् द्वय दिनेशराज पन्त र जगमानसिंह गुरुङले समेत अमरसिंह थापाको जन्मस्थल सिरानचोकमा स्थलगत अवलोकन गरेका थिए ।
को हुन् बडाकाजी अमरसिंह थापा ?
बडाकाजी अमरसिंह थापा (वि.सं. १८१६–१८७३) नेपाल एकीकरण अभियानका प्रमुख सैन्य नायक तथा कुशल रणनीतिकारका रूपमा चिनिन्छन् । उनले पश्चिम नेपालको एकीकरण तथा नेपालको सीमा विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई पश्चिमतर्फ अघि बढाउने क्रममा अमरसिंह थापाले महत्वपूर्ण सैन्य नेतृत्व गरेका थिए । पाल्पा, कुमाउँ, गढवाललगायत पश्चिमी क्षेत्रमा नेपाली सेनाको नेतृत्व गर्दै उनले राज्य विस्तारमा योगदान पुर्याएका थिए ।
पहाडी भूगोलको प्रभावकारी उपयोग, सीमित स्रोतसाधनबीच युद्ध सञ्चालन गर्ने क्षमता तथा सैनिकको मनोबल उच्च राख्ने नेतृत्व कौशलका कारण अमरसिंह थापा कुशल सैन्य रणनीतिकारका रूपमा स्थापित भएका थिए ।
उनको नेतृत्वमा नेपाली राज्य पश्चिमतर्फ विस्तार हुँदै सतलज नदीसम्म पुगेको इतिहासमा उल्लेख छ । वि.सं. १८७१–१८७२ (सन् १८१४–१८१६) को नेपाल–अङ्ग्रेज युद्धमा उनले पश्चिम मोर्चाको नेतृत्व गरेका थिए । देउथल, मलाउँलगायत क्षेत्रमा उनले अङ्ग्रेज सेनाविरुद्ध साहसपूर्वक प्रतिरोध गरेका थिए ।
युद्धका क्रममा कठिन परिस्थितिका बाबजुद अन्तिम समयसम्म नेपाली सेनाको नेतृत्व गरेका अमरसिंह थापा राष्ट्रको स्वतन्त्रता र स्वाभिमानको संरक्षणका लागि संघर्ष गर्ने वीर सेनापतिका रूपमा स्मरण गरिन्छन् ।
गोरखाको ऐतिहासिक पर्यटन विकासमा जोड
अमरसिंह थापाको जन्मस्थल सिरानचोकलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज पछिल्लो समय उठ्दै आएको छ । गोरखा प्रवेश गर्ने तनहुँतर्फको गोरखा गेटमा समेत अमरसिंह थापाको शालिक राख्न पहल गर्नुपर्ने इतिहासका जानकारहरूको सुझाव छ ।
गोरखा ऐतिहासिक व्यक्तित्व र सम्पदाका दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि त्यसअनुसार ऐतिहासिक पर्यटनको पूर्वाधार विकास हुन नसकेको स्थानीयको गुनासो छ ।
नेपालका प्रथम सहिद लखन थापा, प्रथम मुख्तियार भीमसेन थापा, नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह, पश्चिमी क्षेत्रको एकीकरणमा महत्वपूर्ण योगदान दिने अमरसिंह थापा तथा राणा शासनका संस्थापक जंगबहादुर राणासँग जोडिएका ऐतिहासिक पक्ष गोरखासँग सम्बन्धित छन् ।
इतिहास र सम्पदासँग जोडिएका यस्ता स्थलको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्दै गोरखामा ऐतिहासिक पर्यटनको विकास गर्न सके जिल्लाको आर्थिक तथा पर्यटकीय गतिविधि बढाउन सकिने सरोकारवालाहरूको भनाइ छ ।
अमरसिंह थापाको जन्मस्थल सिरानचोकको पहिचान स्थापित गर्न पूर्वअध्यक्ष गुरुङले थालेको अभियानलाई गोरखालीहरूले समेत सकारात्मक रूपमा लिँदै आएका छन् ।
