
काठमाडौं । नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे राजनीतिक सहमतिअनुसार अब बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने निश्चित भएको छ । तर मुख्यमन्त्री को बन्ने भन्ने विषयमा एमालेभित्रै तीव्र आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ ।
मुख्यमन्त्रीको दौडमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, पूर्वमन्त्री किरण थापा र केशव पोखरेललाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । तीनै नेताले पार्टीभित्र आ–आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक लबिङ गरिरहेको स्रोतको दाबी छ ।
जगन्नाथ थपलियामाथि नेतृत्वबारे प्रश्न
हाल एमाले बागमती संसदीय दलका नेता रहेका जगन्नाथ थपलियामाथि पार्टीभित्रै नेतृत्व शैली, विगतका गतिविधि तथा बजेट व्यवस्थापनमा भएको हस्तक्षेपलाई लिएर प्रश्न उठ्ने गरेको छ ।
एमालेकै केही सांसदहरूले संसदीय दलको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन् । थपलिया यसअघि दुई पटक बागमती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनी २०७९ पुस २६ गतेदेखि २०८० चैत १७ गतेसम्म तत्कालीन सत्ता गठबन्धनको सरकारमा तथा २०८० चैत १७ गतेदेखि असार २४ गतेसम्म अर्को गठबन्धन सरकारमा अर्थमन्त्री बनेका थिए । मन्त्री तथा संसदीय दलको नेताका रूपमा उनको कार्यशैलीबारे पार्टीभित्र समय–समयमा आलोचना हुँदै आएको छ ।
किरण थापा पनि बलिया दाबेदार
मुख्यमन्त्रीका अर्का दाबेदार किरण थापा पार्टी सचिव महेश बस्नेत निकट मानिन्छन् । भक्तपुरका थापा बागमती प्रदेश सरकारमा दुई पटक स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
पेसाले क्रसर व्यवसायी रहेका थापाले पनि मुख्यमन्त्रीको दौडमा सक्रिय रूपमा आन्तरिक समर्थन जुटाइरहेको बताइन्छ ।
केशव पोखरेलको पनि दाबी
मुख्यमन्त्रीका अर्का आकांक्षी केशव पोखरेल एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल निकट मानिन्छन् । उनले करिब आठ महिनासम्म प्रदेश सरकारमा मन्त्रीको भूमिका निर्वाह गरेका थिए ।
पार्टीभित्रको समीकरणमा उनी पनि मुख्यमन्त्रीका सम्भावित विकल्पका रूपमा हेरिएका छन् ।
मतदानसम्म पुग्न सक्ने सम्भावना
एमालेभित्र संसदीय दलको नेताबारे सहमति जुट्न नसके केन्द्र नेतृत्वले निर्णय गर्न सक्ने चर्चा छ । तर केन्द्रबाट स्पष्ट निर्देशन नआए प्रदेश संसदीय दलभित्र मतदानमार्फत नेता चयन हुने सम्भावना पनि रहेको एमालेका एक सांसदले बताएका छन् ।
संसदीय दलको नेता नै बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएकाले एमालेभित्रको यो प्रतिस्पर्धालाई अहिले चासोका साथ हेरिएको छ ।
