६५ हजार अमेरिकी डलर साटिदिने भन्दै ११ लाख ७५ हजार ठगी प्रयास, धादिङ प्रहरीले एक जनालाई पक्राउ

Avatar photo
Dhadingpost
असार २९, २०८३

धादिङ । ६५ हजार अमेरिकी डलर साटिदिने भन्दै ११ लाख ७५ हजार रुपैयाँ नगद तथा सुनका गरगहना ठगी गर्ने प्रयासमा संलग्न रहेको आरोपमा धादिङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विदेशी मुद्रा सटहीको नाममा ठूलो नाफा हुने प्रलोभन देखाएर सुनचाँदी व्यवसायीलाई ठगी गर्ने योजनामा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा निवासी ६९ वर्षीय सुनचाँदी व्यवसायी घनश्याम सिंह विश्वकर्मालाई केही व्यक्तिहरूले फोनमार्फत सम्पर्क गरेका थिए । उनीहरूले आफूहरूसँग ६५ हजार अमेरिकी डलर रहेको र त्यसलाई नेपाली रुपैयाँमा साट्न चाहेको भन्दै ठूलो फाइदा हुने विश्वास दिलाएका थिए ।

उक्त प्रस्तावमा विश्वास गरेका विश्वकर्मालाई धादिङको धुनिवेशी नगरपालिका–९ झ्याप्लेखोलास्थित कच्ची सडक नजिक बोलाइएको थियो । उनी त्यहाँ ११ लाख ७५ हजार रुपैयाँ नगद, एक तोलाको सुनको बेरुवा औँठी र आधा तोलाको सुनको बस औँठीसहित पुगेका थिए ।

प्रहरीका अनुसार भेटघाटका क्रममा अभियुक्तहरूले पीडितको झोलामा रहेको नगद र सुनका गरगहनाको सट्टा सेतो रुमालले बाँधिएको अर्को झोला दिएका थिए । उक्त झोलाभित्र ६५ हजार अमेरिकी डलर रहेको भन्दै बाहिरबाट डलर जस्तो देखिने गरी कागजका टुक्रा राखिएको बन्डल देखाइएको थियो । अभियुक्तहरू त्यहाँबाट हिँडेपछि पीडितले झोला खोलेर हेर्दा डलरको सट्टा खाली पाना काटेर बनाइएका कागजका टुक्रामात्र भेटिएपछि आफू ठगिएको थाहा पाएका थिए ।

घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका थिए। उजुरीपछि अनुसन्धान थालेको धादिङ प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ शान्तिटार बस्ने ३७ वर्षीय बुद्धि बहादुर योञ्जनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले धुनिवेशी नगरपालिका–९ झ्याप्लेखोला नजिकैबाट मोटरसाइकलमा आउँदै गरेका योञ्जनलाई नियन्त्रणमा लिएको थियो । पक्राउका क्रममा घटनामा प्रयोग भएको बा.प्र.०२–०४६ प ६२६३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, आइफोन ११ प्रो म्याक्स मोबाइल तथा सेतो रुमालभित्र राखिएको कागजका टुक्राको बन्डल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेका योञ्जनविरुद्ध ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीको आग्रह : यस्ता प्रलोभनबाट सावधान रहनुहोस्

धादिङ प्रहरीले पछिल्लो समय विदेशी मुद्रा सटही, सुन किनबेच तथा छिट्टै धेरै नाफा हुने प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढ्दै गएको भन्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार अपरिचित व्यक्तिबाट फोन वा सामाजिक सञ्जालमार्फत आउने “डलर साटिदिने”, “सस्तोमा सुन बेच्ने” वा “थोरै समयमा ठूलो नाफा हुने” जस्ता प्रस्तावमा विश्वास गर्नु हुँदैन । यस्ता प्रस्तावका आधारमा ठूलो रकम वा बहुमूल्य गरगहना लिएर अपरिचित स्थानमा एक्लै जानु जोखिमपूर्ण हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने प्रहरीले जनाएको छ ।

विदेशी मुद्रा सटही गर्दा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको मात्र प्रयोग गर्न र कुनै पनि शंकास्पद गतिविधि वा प्रस्ताव प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

“सजिलै धेरै फाइदा हुन्छ” भन्ने प्रलोभन नै धेरैजसो ठगीको सुरुवात हुने भएकाले यस्ता प्रस्तावप्रति सचेत रहनु नै आर्थिक क्षतिबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भएको प्रहरीले जनाएको छ ।