धादिङका पशुपति कंडेल ठमेल पर्यटन विकास परिषद्को महासचिवमा निर्वाचित

Avatar photo
Dhadingpost
असार २९, २०८३

काठमाडौं । धादिङका पर्यटन व्यवसायी पशुपति कंडेल ठमेल पर्यटन विकास परिषद्को नयाँ कार्यसमितिको महासचिव पदमा निर्वाचित भएका छन्।

शनिबार सम्पन्न परिषद्को निर्वाचनमा राजुमान डंगोल नेतृत्वको समावेशी समूहबाट उम्मेदवारी दिएका कंडेलले ७२० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरेका थिए।

धादिङको ज्वालामुखी गाउँपालिका–७ स्थायी घर भएका कंडेल काठमाडौंको ठमेलस्थित काठमाडौं आगन्तुक होटल प्रा.लि. तथा **अतिथि होटल एन्ड अपार्टमेन्ट प्रा.लि.**का सञ्चालक हुन्। लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय कंडेलको महासचिवमा भएको निर्वाचनलाई धादिङवासी तथा पर्यटन क्षेत्रले विशेष चासोका साथ हेरेका छन्।

यसैगरी परिषद्को अध्यक्षमा राजुमान डंगोल निर्वाचित भएका छन्। डंगोलले ७२८ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी प्रश्रय राजभण्डारीलाई पराजित गरेका हुन्। राजभण्डारीले ३६५ मत प्राप्त गरेका थिए।

प्रथम उपाध्यक्षमा राजीव पाण्डे ७५४ मत सहित विजयी भए। उनका प्रतिद्वन्द्वी श्रीकृष्ण थपलियाले ३१५ मत प्राप्त गरे।

द्वितीय उपाध्यक्षमा दावाङ तामाङ ६८३ मत सहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी प्रकाश श्रेष्ठले ३३५ मत प्राप्त गरेका थिए।

तृतीय उपाध्यक्षमा रमेश थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

सचिव पदमा दिलीप कंडेल (मिलन) ६३६ मत सहित विजयी भए। उनका प्रतिद्वन्द्वी प्रकाश थपलियाले ३९१ मत प्राप्त गरेका थिए।

कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) ७३३ मत प्राप्त गर्दै निर्वाचित भइन्। उनका प्रतिद्वन्द्वी रोशन अधिकारीले ३३३ मत प्राप्त गरेका थिए।

ठमेल पर्यटन विकास परिषद् काठमाडौंको प्रमुख पर्यटन गन्तव्य ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरूको साझा संस्था हो। परिषद्को नयाँ नेतृत्वले पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीका हकहितको संरक्षण तथा ठमेललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा अझ प्रभावकारी रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।