
धादिङ । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि युवा तथा खेलकुद क्षेत्रको बजेटमा उल्लेख्य कटौती गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको बजेट विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा युवा तथा खेलकुद कार्यक्रम तथा खेलमैदान निर्माणका लागि विनियोजन गरिएको १ करोड ४० लाख रुपैयाँ आगामी वर्षका लागि घटाएर ५४ लाख ५० हजार रुपैयाँ मा सीमित गरिएको छ ।
तुलनात्मक रूपमा हेर्दा युवा तथा खेलकुद क्षेत्रमा ८५ लाख ५० हजार रुपैयाँ बजेट घटाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६१ प्रतिशत कमी हो ।
चालु आर्थिक वर्षमा युवा तथा खेलकुद कार्यक्रम तथा खेलमैदान निर्माणका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो । सो बजेटअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, मेयर कप खेलकुद, अन्तरपालिका खेलकुद कार्यक्रम तथा खुलामञ्च क्षेत्रमा नमुना हरित खेलमैदान निर्माणका लागि मात्रै १ करोड रुपैयाँ छुट्याइएको थियो । त्यस्तै ‘युवासँग उपप्रमुख’ कार्यक्रम सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको थियो ।
तर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि भने युवा तथा खेलकुद क्षेत्रको कुल बजेट ५४ लाख ५० हजार रुपैयाँ मात्रै विनियोजन गरिएको छ । यसमा राष्ट्रपति रनिङ शिल्ड, मेयर कप तथा अन्तरपालिका खेलकुद कार्यक्रमलाई निरन्तरता दिइएको छ भने माध्यमिक विद्यालयहरूलाई खेलकुद सामग्री उपलब्ध गराउने नयाँ कार्यक्रम समावेश गरिएको छ । ‘युवासँग उपप्रमुख’ कार्यक्रमका लागि ९ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले खुलामञ्च क्षेत्रमा नमुना हरित खेलमैदान स्तरोन्नतिका लागि आवश्यक व्यवस्था मिलाइने उल्लेख गरे पनि अघिल्लो वर्ष जस्तो ठूलो रकमको छुट्टै बजेट भने विनियोजन गरिएको देखिँदैन ।
युवा तथा खेलकुद क्षेत्रको बजेटमा भएको ठूलो कटौतीपछि खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूले नगरपालिकाको प्राथमिकतामाथि प्रश्न उठाउन थालेका छन् । नगरपालिकाले भने सीमित स्रोत–साधनलाई विभिन्न क्षेत्रहरूमा सन्तुलित रूपमा वितरण गर्नुपर्ने बाध्यताका कारण बजेट पुनर्संरचना गरिएको जनाएको छ ।


