तेस्रो बागमती प्रदेश खेलकुदमा धादिङलाई ९ स्वर्णसहित ४१ पदक, प्रदेशमा नवौं स्थान

Avatar photo
Dhadingpost
असार १०, २०८३

धादिङ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा धादिङ जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण, १० रजत र २२ कास्य गरी कुल ४१ पदक जित्न सफल भएको छ ।

असार १ गतेदेखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौं ५१ स्वर्ण पदकसहित प्रथम, ललितपुर ४६ स्वर्णसहित दोस्रो तथा चितवन ३० स्वर्णसहित तेस्रो स्थानमा रहँदा धादिङ समग्र पदक तालिकामा नवौं स्थान हासिल गर्न सफल भएको हो । यद्यपि, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डतर्फ भने धादिङले तेस्रो स्थान सुरक्षित गरेको थियो ।

धादिङका लागि महिला भलिबल टोलीले स्वर्ण पदक जित्दै जिल्लाको गौरव बढाएको छ । स्वर्ण विजेता टोलीमा बाल्मिका आचार्य, रेबिका लामा तामाङ, भावना तामाङ, सलिना गुरुङ, प्रतिक्षा थापा मगर, जमुना गुरुङ, सरिना श्रेष्ठ, अमृता थापा मगर, यूना पाण्डे, बबिता तामाङ, अञ्जना गुरुङ र सुहाना थापा मगर रहेका थिए ।

त्यसैगरी, ब्याडमिन्टन पुरुष डबल्सतर्फ राम ठकुरीलक्ष्मण ठकुरी ले स्वर्ण जितेका छन् । बक्सिङमा बिना महर्जन (६६ केजी), मिलन सार्की (५७ केजी)हिमाल शाही (६० केजी) ले स्वर्ण पदक जित्न सफल भए ।

एथलेटिक्सको सटपुट विधामा सिर्जना श्रेष्ठ, तेक्वान्दोमा सुमन धले तथा करातेमा निसन घलेनिसन मल्ल ले स्वर्ण पदक जित्दै धादिङलाई सफलता दिलाएका छन् ।

प्रतियोगिताको नतिजापछि धादिङपोष्टसँग कुरा गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लाको खेलकुद प्रदर्शन क्रमशः सुधार हुँदै गएको बताए । उनका अनुसार विद्यालयस्तरीय खेलकुदमा गरिएको लगानी र सुधारको सकारात्मक प्रभाव देखिन थालेको छ ।

“हामीले विद्यालयस्तरीय खेलकुदमा ठूलो सुधार गरेका छौं । खुला प्रतियोगितामा पदक जित्ने क्षमता भएका सन्तोषी श्रेष्ठलगायत केही महत्वपूर्ण खेलाडी सहभागी हुन नपाउँदा केही पदक गुमाउनुपरेको हो । तथापि, धादिङको समग्र नतिजा सुधारउन्मुख छ,” अध्यक्ष तामाङले बताए ।

उनले आगामी प्रतियोगिताका लागि खेलाडीको तयारी, प्रशिक्षण र सहभागिता अझ प्रभावकारी बनाउन सके धादिङले प्रदेशस्तरमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।